क्यासिनोमा नेपालीलाई प्रवेश गराई जुवा खेलाएको आरोपमा ८ जना पक्राउ

क्यासिनोमा नेपालीलाई प्रवेश गराई जुवा खेलाएको आरोपमा ८ जना पक्राउ

पर्सा । वीरगञ्ज महानगरपालिका–१४ गण्डकस्थित क्यासिनोमा नेपालीलाई प्रवेश गराई जुवा खेलाएको तथा जुवा खेलेको आरोपमा प्रहरीले आठ जनालाई नियन्त्रणमा लिएको छ। गोलडेन फिङ्गर गेमिङ जोन प्रालिमा नेपालीलाई प्रवेश गराई जुवा खेलाइरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेको हो।

जुवा खेलिरहेको अवस्थामा प्रहरीले पर्साको सखुवाप्रसौनी गाउँपालिका–६ का ३६ वर्षीय जसवन्त यादव, सोही ठाउँका ३० वर्षीय चन्दन सहनी, वीरगञ्ज महानगरपालिका–११ का ३९ वर्षीय ओमप्रकाश बैठा र स्याङ्जाको हरिनास गाउँपालिका–७ का ३६ वर्षीय प्रदीप पौडेललाई नियन्त्रणमा लिएको जनाएको छ।

त्यस्तै, नेपालीलाई क्यासिनोमा प्रवेश गराई जुवा खेलाउने कार्यमा संलग्न रहेको आरोपमा चार जना कर्मचारीसमेत पक्राउ परेका छन्। पक्राउ पर्नेमा वीरगञ्ज–१४ का २८ वर्षीय विजयकुमार पटेल, वीरगञ्ज–२५ का ३१ वर्षीय दिनेशकुमार पटेल, महोत्तरीको पिपरा गाउँपालिका–५ का ४९ वर्षीय जयदेव साह र वीरगञ्ज–१२ का ५० वर्षीय प्रदेशी साह रहेका छन्।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार