रसुवा–भोटेकोशी बाढीमा कञ्चनपुरका चार युवा अझै बेपत्ता

रसुवा–भोटेकोशी बाढीमा कञ्चनपुरका चार युवा अझै बेपत्ता

काठमाडौं । रसुवा–भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीमा परी कञ्चनपुरको एउटै गाउँका चार जना युवा अझैसम्म सम्पर्कविहीन छन् । रसुवास्थित अपर त्रिशूली–१ जलविद्युत् परियोजनामा कार्यरत उनीहरू कञ्चनपुरको देखतभुली क्षेत्रका हुन् । सम्पर्कविहीन हुनेमा लालझाडी गाउँपालिका–५ का पदमसिंह साउद (४३), कृष्णपुर नगरपालिका–३ का कालु राना (३०), रिकेश राना (२९) र क्रेशन राना (२३) रहेका छन् ।

पारिवारिक स्रोतका अनुसार बाढी आउनुअघि उनीहरू नाइट ड्युटी सकेर बिहान सुतिरहेका थिए । त्यसपछि आएको भीषण बाढीका कारण उनीहरूसँग सम्पर्क हुन नसकेको परिवारजनले बताएका छन् । बाढी आएको दुई साता बितिसक्दा पनि उनीहरूको अवस्था अझै अज्ञात रहेको छ ।

चारै जना युवा लामो समयदेखि परिवार तथा आफन्तको सम्पर्कमा नआएपछि परिवारजन गहिरो चिन्तामा परेका छन् । एकै गाउँका चार जना युवा एकसाथ सम्पर्कविहीन भएपछि सिङ्गो गाउँ नै शोक र चिन्तामा डुबेको लालझाडी गाउँपालिका–५ का वडाध्यक्ष पहल थापाले बताए । उनीहरूको अवस्था अझै पत्ता नलाग्दा परिवारको पीडा झन् बढ्दै गएको उनले बताए ।बेपत्ता युवाहरूको खोजी कार्यलाई तीव्र बनाउन र उनीहरूको अवस्थाबारे यथाशीघ्र जानकारी सार्वजनिक गर्न परिवारजनले सरकार, स्थानीय प्रशासन तथा सम्बन्धित सबै निकायसँग आग्रह गरेका छन् ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार