बर्दिया । भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन भएका बर्दियाका नागरिकको पहिचान सुनिश्चित गर्न आजदेखि आफन्तको डीएनए नमूना सङ्कलन सुरु गरिएको छ। जिल्ला प्रहरी कार्यालय, बर्दियाका प्रहरी उपरीक्षक सरोज पौडेलका अनुसार सम्पर्कविहीन व्यक्तिका फस्ट डिग्री रिलेसनअन्तर्गत बुबा, आमा, छोरा वा छोरीमध्ये कुनै एक जनाले डीएनए नमूना दिन सक्नेछन्। जिल्ला प्रहरी कार्यालय, बर्दिया, गुलरियामा बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म नमूना सङ्कलन गरिनेछ भने जिल्ला अस्पतालले समेत यस कार्यमा सहयोग गर्नेछ। प्रहरीका अनुसार डीएनए नमूना सङ्कलन दुई दिनसम्म सञ्चालन हुनेछ। नमूना दिन आउने आफन्तले आफ्नो परिचय खुल्ने आधिकारिक कागजात र पासपोर्ट साइजका दुई प्रति फोटो अनिवार्य रूपमा ल्याउनुपर्नेछ। प्रहरी उपरीक्षक पौडेलका अनुसार बाढीपछि जिल्लामा हालसम्म ७४ जना सम्पर्कविहीन रहेका छन्। बारबर्दिया नगरपालिका, बाँसगढी नगरपालिका, गेरुवा गाउँपालिकालगायतका क्षेत्रबाट उनीहरू सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ।