बर्जर पेन्ट्सलाई उपभोक्ता अदालतको आदेश : तीन ग्राहकलाई १२ लाख ७८ हजार क्षतिपूर्ति

बर्जर पेन्ट्सलाई उपभोक्ता अदालतको आदेश : तीन ग्राहकलाई १२ लाख ७८ हजार क्षतिपूर्ति

काठमाडौँ । आकर्षक विज्ञापनमार्फत ७ वर्षदेखि १० वर्षसम्मको वारेन्टी दिने भन्दै बिक्री गरिएको बर्जर पेन्ट्सको रङ केही महिनामै खुइलिएपछि क्षतिपूर्ति माग गरेका तीन उपभोक्ताको पक्षमा उपभोक्ता अदालतले फैसला गरेको छ । अदालतले बर्जर जेन्सन एण्ड निकोल्सन (नेपाल) प्रा.लि. र भक्तपुरस्थित फ्रेन्ड्स फरइभर ट्रेडिङ प्रा.लि.का सञ्चालक दिनेश गिरीलाई गरी कुल १२ लाख ७८ हजार ४ सय रुपैयाँ क्षतिपूर्ति भराउन आदेश दिएको हो ।सिन्धुपाल्चोकका दिपकराज गिरी, भक्तपुरका सिद्धान्त श्रेष्ठ र सूर्यविनायकका दयाराम कार्कीले बर्जर कम्पनीको रङ ७ वर्ष तथा १० वर्ष वारेन्टी रहेको भन्दै खरिद गरेको तर घरमा लगाएको ६ देखि ८ महिनामै रङ खुइलिएपछि क्षतिपूर्तिको माग गर्दै उपभोक्ता अदालतमा मुद्दा दायर गरेका थिए । उनीहरूले पटक–पटक कम्पनी र डिलरलाई जानकारी गराउँदा रङको मर्मत तथा पुनःरङरोगन गर्ने आश्वासन पाए पनि वारेन्टी कार्यान्वयन नभएको दाबी गरेका थिए ।

फैसलामा अदालतले सार्वजनिक विज्ञापन र रङको बट्टामा ७ वर्ष वा १० वर्ष वारेन्टी रहेको भन्दै उपभोक्तालाई खरिदका लागि आकर्षित गर्ने तर बिक्रीपछि वारेन्टी प्रमाणपत्रमा फरक तथा सीमित गर्ने शर्त राख्नु उचित नभएको ठहर गरेको छ । विशेषगरी वारेन्टी प्रमाणपत्रमा हरेक वर्ष क्षतिपूर्ति पाउने सीमा घटाउँदै लैजाने व्यवस्था राखिएको भन्दै अदालतले यस्तो कार्य उपभोक्ता संरक्षण ऐन, २०७५ को व्यवस्थाअनुकूल नभएको उल्लेख गरेको छ ।अदालतले उत्पादक कम्पनीले डिलरसँग गरेको व्यापारिक सम्झौताका आधारमा उपभोक्ताप्रतिको कानुनी दायित्वबाट उन्मुक्ति पाउन नसक्ने पनि स्पष्ट पारेको छ । विज्ञापनमार्फत खास गुणस्तरयुक्त वस्तु तथा वारेन्टीको प्रतिबद्धता गरेपछि त्यसअनुसारको सेवा प्रदान गर्ने दायित्व उत्पादक र विक्रेता दुवैको हुने अदालतको निष्कर्ष छ ।

फैसलाअनुसार बर्जर जेन्सन एण्ड निकोल्सन (नेपाल) प्रा.लि.ले १२ लाख १४ हजार ५ सय रुपैयाँ र डिलरका सञ्चालक दिनेश गिरीले ६३ हजार ९ सय रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्नेछ । तीन उपभोक्तामध्ये दिपकराज गिरीले ३ लाख ४६ हजार १ सय, सिद्धान्त श्रेष्ठले ६ लाख ३४ हजार ८ सय र दयाराम कार्कीले २ लाख ९७ हजार ५ सय रुपैयाँ क्षतिपूर्ति पाउने अदालतले ठहर गरेको छ ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार