ठमेलमा युवतीलाई ‘ब्याड टच’ गरेको आरोपमा युवक पक्राउ

ठमेलमा युवतीलाई ‘ब्याड टच’ गरेको आरोपमा युवक पक्राउ

काठमाडौं । ठमेलमा एक युवतीलाई ‘ब्याड टच’ गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि फरार रहेका शालीन साहलाई प्रहरीले पक्राउ गरेको छ।भाइरल भिडियोमा देखिएको घटना भदौ १८ गतेको रहेको प्रहरीले जनाएको छ। भिडियो सार्वजनिक भएपछि अनुसन्धान थालेको प्रहरीले साहलाई शनिबार कलंकीस्थित तासिनडोलबाट पक्राउ गरेको हो।

प्रहरीका अनुसार पक्राउ पर्नबाट जोगिन साहले आफ्नो लामो कपाल तथा दाह्री–जुँगा काटेर रूप परिवर्तन गरेका थिए। उनी कलंकीबाट भाग्ने प्रयासमा रहेको अवस्थामा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकु र प्रहरी वृत्त लैनचौर (सोह्रखुट्टे) को संयुक्त टोलीले उनलाई फेला पारेको हो।३० वर्षीय साह तराईमूलका रहेको र घटनामा पीडित युवती पनि नेपाली नै रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका प्रमुख एसएसपी सन्तोष खड्काले जानकारी दिए।पक्राउ परेका साहलाई मुद्दा चलाउने प्रयोजनका लागि जिल्ला प्रहरी परिसर, भद्रकालीमा बुझाइएको छ। घटना ठमेलमा भएको र उक्त क्षेत्र प्रहरी वृत्त लैनचौर (सोह्रखुट्टेको) कार्यक्षेत्रमा पर्ने भएकाले थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाही सोही वृत्तबाट हुने प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार