सुर्खेत । २०८० कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पबाट क्षतिग्रस्त कर्णाली प्रदेशका विद्यालय तथा स्वास्थ्य संस्थामध्ये दुई आर्थिक वर्षमा ८२ वटा भवन पुनर्निर्माण सम्पन्न भएका छन् । सम्पन्न संरचनामध्ये ६७ वटा सामुदायिक विद्यालय र १५ वटा स्वास्थ्य संस्था रहेका छन् । भूकम्पबाट जाजरकोट, रुकुम पश्चिम र सल्यानका सार्वजनिक संरचनामा ठूलो क्षति पुगेपछि प्रदेश सरकारले प्राथमिकताका आधारमा पुनर्निर्माण अघि बढाएको थियो । प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका अनुसार विद्यालयतर्फ कुल ९९ वटा भवन निर्माण गर्ने लक्ष्य रहेकामा ६७ वटा सम्पन्न भएका छन् भने ३२ वटा निर्माणाधीन छन् । जाजरकोटमा ५२ मध्ये ३३, रुकुम पश्चिममा ४३ मध्ये २७ र सल्यानमा चारवटै विद्यालय भवन निर्माण सम्पन्न भएका छन् । त्यसैगरी स्वास्थ्य संस्थातर्फ २७ वटा भवन निर्माण गर्ने लक्ष्य रहेकामा १५ वटा सम्पन्न र १२ वटा निर्माणाधीन अवस्थामा छन् । जाजरकोटमा १५ मध्ये सात, रुकुम पश्चिममा १० मध्ये पाँच र सल्यानका दुईवटै स्वास्थ्य संस्था भवन निर्माण सम्पन्न भएका छन् । आर्थिक वर्ष २०८२/८३ मै अधिकांश संरचना निर्माण सम्पन्न गर्ने लक्ष्य राखिए पनि काम पूरा हुन नसकेपछि ४४ वटा भवनको निर्माण दायित्व चालु आर्थिक वर्षमा सरेको हो । प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ मा भूकम्पबाट क्षतिग्रस्त विद्यालय तथा स्वास्थ्य संस्था पुनर्निर्माणका लागि १४ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । सरकारले बाँकी संरचनाको निर्माण समयमै सम्पन्न गर्ने गरी काम अघि बढाउने जनाएको छ । पुनर्निर्माण सम्पन्न भएपछि भूकम्प प्रभावित क्षेत्रका विद्यार्थी तथा स्वास्थ्य सेवा लिन जाने नागरिकले सुरक्षित र व्यवस्थित भवनबाट सेवा पाउने अपेक्षा गरिएको छ ।