प्रचण्ड र माधव नेपाल बाढी प्रभावित क्षेत्रमा जाने तयारीमा

प्रचण्ड र माधव नेपाल बाढी प्रभावित क्षेत्रमा जाने तयारीमा

काठमाडौं । पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल भोटेकोशी बाढी प्रभावित क्षेत्रमा स्थलगत निरीक्षणका लागि जाने तयारीमा रहेका छन् । नेकपाको केन्द्रीय संयोजन समितिको आइतबार बसेको बैठकमा विपद्का बेला पार्टी नेतृत्व प्रभावित क्षेत्रमा पुगेर पीडितको अवस्था बुझ्नुपर्ने सुझाव आएपछि प्रचण्ड र नेपाल प्रभावित क्षेत्रमा जाने तयारी गरेका हुन् । भदौ १० गते आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लाका नदी तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएको थियो । बाढीपछि नेकपाले आकस्मिक बैठक बोलाएर खोज, उद्धार तथा राहत वितरणमा पार्टी पङ्क्तिलाई परिचालन गरेको छ भने बागमती प्रदेशका इन्चार्ज डा. गंगालाल तुलाधरको संयोजकत्वमा खोज तथा उद्धार समन्वय समिति गठन गरेको छ । यसअघि संगठन विभाग प्रमुख वर्षमान पुन, नन्दकिशोर पुन ‘पासाङ’ लगायतका नेताहरू नुवाकोट पुगेर प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिइसकेका छन् । बैठकमा बाढी प्रभावित क्षेत्रमा पुगेर पीडितका समस्या, गुनासा र आवश्यकताबारे जानकारी लिन संयोजक प्रचण्ड र सहसंयोजक नेपाललाई सुझाव दिइएको नेता गंगालालले जानकारी दिए । प्रधानमन्त्री बालेन्द्र शाह, सरकारका मन्त्रीहरू तथा विभिन्न दलका नेताहरू प्रभावित क्षेत्रमा पुगिसकेकाले आफ्नो पार्टी नेतृत्वको पनि उपस्थिति देखाउनुपर्ने निष्कर्षसहित प्रचण्ड र नेपाल फिल्डमा जाने तयारीमा जुटेका हुन्।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार