काठमाडौँ । काठमाडौँ उपत्यकामा खाना पकाउने एलपीजी ग्यासको चरम अभाव देखिएको छ। दैनिक करिब ४० हजार सिलिन्डर ग्यासको माग रहे पनि हाल करिब २५ हजार सिलिन्डर मात्रै आपूर्ति हुँदा दैनिक १५ हजार सिलिन्डर अपुग भएको नेपाल आयल निगम र नेपाल एलपी ग्यास उद्योग संघले जनाएका छन्। गत भदौ १४ गते रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीका कारण धादिङको कृष्णभीरमा पृथ्वी राजमार्गको ठूलो हिस्सा कटान भएपछि नागढुंगा–मुग्लिन सडक अवरुद्ध हुँदा तराईबाट काठमाडौँ भित्रिने ग्यास, पेट्रोलियम पदार्थ तथा खाद्यान्नको आपूर्ति प्रभावित भएको हो। सडक अवरुद्ध भएपछि सामान्य अवस्थामा तराईका डिपोबाट २१ टनसम्म ग्यास बोकेर काठमाडौँका उद्योगसम्म आउने ठूला बुलेटहरू बाटोमै रोकिएका छन्। नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार दैनिक १०० भन्दा बढी ग्यास बुलेट लोड भएर भन्सार पास भए पनि कृष्णभीरको सडक अवरोधका कारण ती काठमाडौँ आउन सकेका छैनन्। अहिले तराईका डिपोबाट सिलिन्डरमा ग्यास भरेर साना ट्रकमार्फत वैकल्पिक मार्ग हुँदै काठमाडौँ ल्याउने प्रयास भइरहेको छ। देशभरका ५८ ग्यास उद्योगमध्ये हाल १७–१८ वटा उद्योगले मात्रै ग्यास भरिरहेका छन्, जसमा तराईका उद्योगको संख्या बढी छ। काठमाडौँका उद्योगमा पर्याप्त ग्यास पुग्न नसक्दा रिफिलिङ प्रक्रिया सुस्त बनेको छ। ग्यासको अभावसँगै उपभोक्तामाथि थप आर्थिक भारसमेत परेको छ। नेपाल एलपी ग्यास उद्योग संघले प्रतिसिलिन्डर १०५ रुपैयाँ ३८ पैसा अतिरिक्त शुल्क लिने निर्णय गरेपछि काठमाडौँमा ग्यासको मूल्य साविकको २ हजार ६० रुपैयाँबाट बढेर २ हजार १६५ रुपैयाँ ३८ पैसा पुगेको छ। वैकल्पिक मार्गबाट ग्यास ढुवानी गर्दा अतिरिक्त खर्च बढेकाले उक्त शुल्क समायोजन गरिएको उद्योगीहरूको दाबी छ। यता, आपूर्ति कम भएपछि कलंकी, बालाजु र ललितपुरलगायतका ग्यास डिपोमा उपभोक्ताको लामो लाइन लाग्न थालेको छ। मध्यरातदेखि रित्तो सिलिन्डर बोकेर लाइनमा बसे पनि दुई–तीन दिनसम्म ग्यास नपाएको उपभोक्ताको गुनासो छ। कतिपय डिलरले आफ्नै कर्मचारीलाई उपभोक्ता बनाएर लाइनमा पठाउने र ग्यास होल्ड गर्ने गरेको नेपाल एलपी ग्यास उद्योग संघले समेत स्वीकार गरेको छ। सडक खुलेपछि रोकिएका ग्यास बुलेट काठमाडौँ भित्रिएर आपूर्ति बढ्ने अपेक्षा गरिए पनि तत्कालै संकट अन्त्य हुने अवस्था देखिएको छैन। नेपाल आयल निगमका अनुसार सडक पूर्ण रूपमा सञ्चालनमा आएपछि रोकिएका बुलेट काठमाडौँ पुग्न र उद्योगमा ग्यास रिफिल भएर बजारमा वितरण हुन कम्तीमा केही दिन लाग्नेछ। उद्योगहरू पूर्ण क्षमतामा सञ्चालन भएपछि मात्रै बजारमा सहज आपूर्ति हुने भएकाले सडक आज–भोलि नै खुले पनि ग्यासको लाइन हट्न र सहज रूपमा ग्यास पाउन करिब एक सातासम्म लाग्न सक्ने देखिन्छ। यसबीच सरकारले कृष्णभीरको सडक मर्मतलाई तीव्रता दिनुका साथै ग्यासको मूल्य, वितरण प्रणाली र सम्भावित कालोबजारीमाथि कडाइका साथ अनुगमन नगरे अभाव अझै लम्बिन सक्ने जोखिम देखिएको छ।