काठमाडौँ । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको कार्यतालिका हेरफेर गर्ने तयारी गरेको छ । यस विषयमा छलफल तथा आवश्यक निर्णय गर्न कांग्रेसको केन्द्रीय निर्वाचन समितिको बैठक भोलि बस्ने भएको छ । समितिका सदस्य सचिव राजु कटुवालका अनुसार बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । बैठकले महाधिवेशनसँग सम्बन्धित निर्वाचन कार्यक्रम तथा यसअघि तय गरिएको कार्यतालिकामा आवश्यक संशोधन गर्ने विषयमा निर्णय गर्नेछ । यता, कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकसमेत जारी रहेको छ । कार्यसम्पादन समितिले १५औँ महाधिवेशनको कार्यतालिका केही पर धकेल्ने निर्णय गर्ने तयारी गरिरहेको छ । कार्यसम्पादन समितिबाट कार्यतालिका हेरफेर गर्ने निर्णय भएपछि त्यसअनुसार केन्द्रीय निर्वाचन समितिले महाधिवेशनको नयाँ कार्यतालिका तय गर्नेछ । पछिल्लो तयारीअनुसार महाधिवेशनका विभिन्न प्रक्रिया तथा निर्वाचनसम्बन्धी कार्यक्रमको समयतालिका परिवर्तन हुन सक्ने देखिएको छ । महाधिवेशनको नयाँ मिति तथा निर्वाचन कार्यक्रमबारे भने केन्द्रीय निर्वाचन समितिको बैठकपछि थप स्पष्टता आउनेछ ।