जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका–१४ स्थित लवकी पोखरीको डिल तथा आसपासको जग्गा खाली गराउन राजगुठीले जारी गरेको सातदिने सूचनाको स्थानीयवासीले विरोध गरेका छन् । राजगुठीले पोखरी तथा डिल क्षेत्रमा भएको भनिएको अतिक्रमण हटाई जग्गा खाली गराउन सूचना जारी गरेपछि स्थानीयवासी विरोधमा उत्रिएका हुन् । स्थानीयवासीले सम्बन्धित जग्गा गुठी संस्थानको स्वामित्वमा नरहेको दाबी गर्दै सूचना तत्काल पुनरवलोकन गर्न माग गरेका छन् । उनीहरूले जग्गाको स्वामित्व, नापी तथा कानुनी अवस्थाबारे आवश्यक छानबिन नगरी एकतर्फी रूपमा जग्गा खाली गराउने सूचना जारी गरिएको आरोप लगाएका छन् । जग्गाको वास्तविक स्वामित्व र अधिकार यकिन गरी कानुनी प्रक्रिया पूरा गरेपछि मात्र कुनै निर्णय लिनुपर्ने उनीहरूको भनाइ छ । सूचनाको विरोधमा स्थानीयवासीले मंगलबार जनकपुरधामको पिडारी चोकमा चक्काजामसहित प्रदर्शन गरेका छन् । चक्काजामका कारण केही समय उक्त क्षेत्रमा सवारी आवागमन प्रभावित भएको थियो । प्रदर्शनकारीहरूले आफूहरूको मागलाई बेवास्ता गरिए आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी दिँदै सम्बन्धित निकायसँग तत्काल छलफल गरी विवादित जग्गाको स्वामित्व तथा कानुनी अवस्थाबारे निष्पक्ष छानबिन गर्न माग गरेका छन् ।