काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फुकुवा, सुशासन र भ्रष्टाचार अन्त्यको माग गर्दै भएको ऐतिहासिक जेन–जी आन्दोलनको म्यान्डेटअनुसार वर्तमान सरकारले अपेक्षित परिणाम दिन नसकेको बताएका छन्।जेन–जी विद्रोहको एक वर्ष पूरा भएको अवसरमा वक्तव्य जारी गर्दै अध्यक्ष घिसिङले झन्डै दुईतिहाइ जनमत प्राप्त सरकारले पनि जनताको अपेक्षाअनुसार गति लिन नसकेको बताएका हुन्। उनले आन्दोलनका क्रममा ज्यान गुमाउने सम्पूर्ण सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
घिसिङले जेन–जी आन्दोलन केवल सरकार परिवर्तनका लागि भएको आन्दोलन नभई राजनीतिक संस्कार, शासनशैली र सुशासनमा परिवर्तनको मागसहित उठेको पुस्ताको आवाज भएको स्पष्ट पारेका छन्। उनका अनुसार आन्दोलनले राज्य सञ्चालनमा जवाफदेहिता, पारदर्शिता र नागरिकमैत्री शासनको आवश्यकता औँल्याएको थियो।आन्दोलनपछि गठित सरकारले गत फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गराएर राजनीतिलाई लोकतान्त्रिक प्रक्रियामा फर्काएको उल्लेख गर्दै उनले सुशासनका क्षेत्रमा केही सकारात्मक प्रयास भए पनि आन्दोलनले उठाएका मूल प्रश्नहरू अझै समाधान हुन नसकेको बताएका छन्।अध्यक्ष घिसिङका अनुसार संविधान, शासन प्रणाली र राज्य संरचनालाई नागरिकमैत्री बनाउने, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने तथा रोजगारी र उद्यमशीलताको अवसर सिर्जना गर्ने विषयमा अपेक्षित प्रगति हुन सकेको छैन।
सरकारको कार्यशैलीप्रति टिप्पणी गर्दै घिसिङले अब भाषण, घोषणा र राजनीतिक नाराले मात्रै जनताको अपेक्षा पूरा नहुने बताएका छन्। जनताले खोजेको परिवर्तन शासन गर्ने व्यक्तिको मात्र नभई प्रणाली र कार्यशैलीमै परिवर्तन भएको उनको भनाइ छ।उज्यालो नेपाल पार्टीले सरकारका कामकारबाहीमा निरन्तर खबरदारी, निगरानी र रचनात्मक दबाब जारी राख्ने जनाएको छ। घिसिङले जेन–जी आन्दोलनका क्रममा भएको बलिदानलाई केवल इतिहासमा सीमित नराखी त्यसले दिएको म्यान्डेटलाई राज्य सञ्चालनको मार्गदर्शन बनाउनुपर्नेमा जोड दिएका छन्।