• २०८३ भाद्र २३ गते मङ्गलवार
  • Preeti To Unicode

लवकी पोखरीको जग्गा खाली गराउने गुठीको सूचनाको विरोधमा स्थानीय

लवकी पोखरीको जग्गा खाली गराउने गुठीको सूचनाको विरोधमा स्थानीय

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका–१४ स्थित लवकी पोखरीको डिल तथा आसपासको जग्गा खाली गराउन राजगुठीले जारी गरेको सातदिने सूचनाको स्थानीयबासीले विरोध गरेका छन्। राजगुठीले पोखरी तथा डिल क्षेत्रमा भएको भनिएको अतिक्रमण हटाई जग्गा खाली गराउन सूचना जारी गरेपछि स्थानीय विरोधमा उत्रिएका हुन्।

स्थानीयबासीले विवादित जग्गा गुठी संस्थानको स्वामित्वमा नरहेको दाबी गर्दै राजगुठीले जारी गरेको सूचना तत्काल पुनरवलोकन गर्न माग गरेका छन्। उनीहरूका अनुसार जग्गाको स्वामित्व, नापी तथा कानुनी अवस्थाबारे आवश्यक छानबिन नगरी एकतर्फी रूपमा जग्गा खाली गराउने सूचना जारी गरिएको हो।स्थानीयले जग्गाको वास्तविक स्वामित्व र अधिकार यकिन गरी कानुनी प्रक्रिया पूरा गरेपछि मात्र कुनै निर्णय लिनुपर्ने बताएका छन्। सम्बन्धित निकायले विवादित जग्गाको अवस्था, स्वामित्व र कानुनी आधारबारे निष्पक्ष छानबिन गर्नुपर्ने उनीहरूको माग छ।

सूचनाको विरोधमा स्थानीयबासीले मंगलबार जनकपुरधामको पिडारी चोकमा चक्काजामसहित प्रदर्शन गरेका छन्। चक्काजामका कारण केही समय उक्त क्षेत्रमा सवारी आवागमनसमेत प्रभावित भएको थियो।प्रदर्शनमा सहभागी स्थानीयले आफ्ना मागलाई बेवास्ता गरिए आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी दिएका छन्। उनीहरूले सम्बन्धित निकायसँग तत्काल छलफल गरी विवादित जग्गाको स्वामित्व र कानुनी अवस्थाबारे निष्पक्ष छानबिन गरेर मात्र आवश्यक प्रक्रिया अघि बढाउन माग गरेका छन्।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार