• २०८३ भाद्र २३ गते मङ्गलवार
  • Preeti To Unicode

मानव अधिकार आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न कांग्रेसको माग

मानव अधिकार आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसले जेनजी आन्दोलनका क्रममा भएका घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगले गरेको अनुसन्धानको प्रतिवेदन तत्काल सार्वजनिक गरी त्यसमा गरिएका सिफारिस पूर्णरूपमा कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ। जेनजी आन्दोलन भएको एक वर्ष पूरा भएको अवसरमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले जारी गरेको विज्ञप्तिमा २३ भदौको शान्तिपूर्ण प्रदर्शनलाई घुसपैठमार्फत हिंसात्मक बनाउन उक्साउने, तत्कालीन सरकारबाट भएको अत्यधिक बल प्रयोग तथा २४ भदौमा भएको आगजनी, तोडफोड र विध्वंसमा संलग्न सबै पक्षमाथि निष्पक्ष अनुसन्धान गरी कानुनी कारबाही गर्नुपर्ने उल्लेख छ। कांग्रेसले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनमा केही पात्रलाई जोगाउने गरी सत्ता नेतृत्वबाटै हस्तक्षेप भएको आशंका गर्ने ठाउँ रहेको भन्दै गौरीबहादुर कार्की आयोगको प्रतिवेदनभन्दा मानव अधिकार आयोगको प्रतिवेदन बढी विश्वसनीय रहेको धारणा व्यक्त गरेको छ। २३ भदौको अत्यधिक बल प्रयोगमा जिम्मेवार जोसुकै भए पनि कानुनी दायरामा ल्याउनुपर्ने तथा २४ भदौको हिंसा, आगजनी, तोडफोड र सार्वजनिक तथा निजी सम्पत्तिको विनाशमा संलग्न व्यक्ति वा समूहलाई पनि उन्मुक्ति दिन नहुने कांग्रेसले जनाएको छ। राजनीतिक संरक्षण वा सत्ताको प्रभावका आधारमा कसैलाई उन्मुक्ति दिन नहुने स्पष्ट पार्दै कांग्रेसले राज्यशक्तिको दुरुपयोग गर्ने तथा आन्दोलनको नाममा कानुन हातमा लिएर देशलाई विध्वंसतर्फ धकेल्ने सबैलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताएको छ। साथै, जेनजी युवाहरूले व्यक्ति परिवर्तन मात्र नभई व्यवस्था सञ्चालनको संस्कार परिवर्तन खोजेको भन्दै कांग्रेसले सरकारलाई आलोचनालाई शत्रुको बोली नठान्न, प्रश्न उठाउने नागरिकलाई दण्डित गर्ने प्रवृत्ति त्याग्न तथा राज्यलाई पारदर्शी, जवाफदेही र जनउत्तरदायी बनाउन आग्रह गरेको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार