• २०८३ भाद्र २३ गते मङ्गलवार
  • Preeti To Unicode

चाडपर्वमा अत्यावश्यक वस्तुको सहज आपूर्ति गर्न सरकारसँग उपभोक्ता जागरण अभियानको माग

चाडपर्वमा अत्यावश्यक वस्तुको सहज आपूर्ति गर्न सरकारसँग उपभोक्ता जागरण अभियानको माग

काठमाडौँ । नेपालीहरूका ठूला चाडपर्व नजिकिँदै गर्दा प्राकृतिक विपद्का कारण दैनिक उपभोग्य वस्तुको आपूर्ति प्रभावित हुनसक्ने भन्दै उपभोक्ता जागरण अभियान–नेपालले बजार नियमनलाई प्रभावकारी बनाउँदै अत्यावश्यक वस्तु तथा सेवाको सहज आपूर्ति सुनिश्चित गर्न सरकारसँग माग गरेको छ।भोटेकोशी नदीमा आएको बाढी तथा पृथ्वी राजमार्गको कृष्णभीरमा सडक अवरुद्ध भएपछि आपूर्ति शृङ्खलामा असर पर्नसक्ने भन्दै अभियानले यस्तो अवस्थामा कालोबजारी, कृत्रिम अभाव तथा अनुचित व्यापारिक गतिविधि हुन नदिन सरकार र सम्बन्धित नियामक निकायलाई विशेषरूपमा सचेत हुन आग्रह गरेको हो।

भक्तपुरको लोकन्थलीमा सम्पन्न उपभोक्ता जागरण अभियान–नेपालको पाँचौँ वार्षिक साधारणसभा तथा तेस्रो राष्ट्रिय अधिवेशनले चाडपर्वका समयमा बजारमा हुनसक्ने अनियमितता नियन्त्रणका लागि प्रभावकारी अनुगमन तथा नियमन गर्न सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ। सूचना आयोगका पूर्वप्रमुख आयुक्त एवं नेपाल सरकारका पूर्वसचिव कृष्णहरि बास्कोटाको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले विपद्का कारण यातायातका मुख्य मार्ग अवरुद्ध हुँदा खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि र अभाव हुनसक्ने भन्दै त्यसतर्फ समयमै आवश्यक कदम चाल्नुपर्नेमा जोड दिएको छ।अधिवेशनले पारित गरेको निर्णयमा भोटेकोशीमा आएको बाढी र पृथ्वी राजमार्गको कृष्णभीरमा भएको सडक अवरोधका कारण दैनिक अत्यावश्यक वस्तुको आपूर्ति शृङ्खला प्रभावित हुनसक्ने उल्लेख गर्दै वस्तु तथा सेवाको सहज आपूर्ति व्यवस्थापनका लागि सरकारसँग जोडदार अनुरोध गरिएको छ।

साथै, सम्भावित कालोबजारी र कृत्रिम अभाव रोक्न बजार अनुगमनलाई प्रभावकारी बनाउनसमेत आग्रह गरिएको छ । यसैबीच, अधिवेशनले कृष्णप्रसाद भण्डारी ‘मार्सेली’ को अध्यक्षतामा १५ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ। साधारणसभाले बाढी प्रभावित क्षेत्रका नागरिकप्रति गहिरो समवेदना व्यक्त गर्दै राहत तथा पुनर्स्थापनाका कार्यमा सरकारलाई सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। साथै, उपभोक्ता अधिकार संरक्षणका लागि देशभर सचेतनामूलक अभियानलाई थप तीव्र बनाउने निर्णयसमेत गरेको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार