काठमाडौं । नेकपाका प्रवक्ता प्रकाश ज्वालाले जेनजी आन्दोलनको जगमा बनेको सरकारले आन्दोलनका मागहरूलाई गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्ने बताएका छन्। उनले आन्दोलनका क्रममा घाइते भएकाहरूको पीडा सरकारले सुन्नुपर्ने र उनीहरूको प्रभावकारी उपचारको उचित व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन्।
ज्वालाले जेनजी आन्दोलनका सहिदहरूको भावनाको सम्मान गर्दै सहिद परिवारलाई सम्मान तथा न्यायोचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। साथै, भदौ २३ गते नवयुवामाथि भएको हिंसा तथा भदौ २४ गते राष्ट्रिय धरोहरमा क्षति पुर्याउने र देशमा विध्वंस मच्चाउने घटनामा संलग्न दोषीलाई कडा कानुनी कारबाही गर्नुपर्ने बताएका छन्।
उनले जेनजी आन्दोलनले उठाएका भ्रष्टाचार नियन्त्रण, सुशासन र जवाफदेहिताका मुद्दालाई सरकारले कार्यान्वयन गर्नुपर्ने धारणा व्यक्त गरेका छन्। युवाहरूको भावना र अपेक्षाअनुसार राज्य अघि बढ्नुपर्ने भन्दै उनले राजनीति लगायत विभिन्न क्षेत्रमा युवाको सहभागिता र प्रभाव स्थापित गर्नुपर्नेमा समेत जोड दिएका छन्।ज्वालाले जेनजी आन्दोलनले स्थापित गरेका सुशासनलगायतका मुद्दालाई व्यवहारमा कार्यान्वयन गर्दै अघि बढ्ने प्रतिबद्धता आवश्यक रहेको बताएका छन्।