बझाङ । बझाङमा परम्परागत मेला–जात्राको संरक्षण गर्दै नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने उद्देश्यले भलिबल प्रतियोगिता आयोजना गर्ने क्रम बढेको छ। सुदूरपश्चिमका ‘हरेलो’, ‘विरिजात’ र ‘बिर्सती’ जस्ता धार्मिक तथा सांस्कृतिक महत्व बोकेका मेलामा पछिल्लो समय देउडा, नाचगान र धार्मिक गतिविधिसँगै भलिबल प्रतियोगिता मुख्य आकर्षण बन्न थालेको हो। मेलामा युवाको सहभागिता र आकर्षण घट्दै गएपछि स्थानीय तह तथा आयोजकले खेलकुदलाई मेलासँग जोड्न थालेका छन्। पछिल्ला दुई सातामै जयपृथ्वी भलिबल कप, सुर्मादेवी विरिजात, हरेलो र बिर्सती मेलामा महिला तथा पुरुष भलिबल प्रतियोगिता आयोजना भएका छन्। जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीका अवसरमा आयोजित जयपृथ्वी भलिबल कपमा ३४ टोली सहभागी भएका थिए भने विजेताले रु एक लाख १०५ र उपविजेताले रु ६० हजार १०५ पुरस्कार पाएका थिए। सुर्मादेवी विरिजातमा पुरुषतर्फ ३५ र महिलातर्फ दर्जनभन्दा बढी टोली सहभागी भए। हरेलो मेलामा पुरुषतर्फ २६ र महिलातर्फ १२ टोलीले प्रतिस्पर्धा गरेका थिए। त्यस्तै, बिर्सती भलिबल प्रतियोगितामा पुरुषतर्फ १९ र महिलातर्फ ११ टोली सहभागी भएका छन्। प्रतियोगितामा आकर्षक पुरस्कार राखिन थालेपछि जिल्लाभित्रका साथै बाहिरी क्षेत्रका खेलाडीसमेत बझाङ पुग्न थालेका छन्। मेला–जात्रा गाउँबाहिर रहेका युवाको पुनर्मिलनको अवसरसमेत भएकाले भलिबलले सामाजिक सम्बन्ध विस्तार गर्न सहयोग पुर्याएको स्थानीयको भनाइ छ। खेलकुदमा महिलाको सहभागिता बढ्नु पनि यसको सकारात्मक पक्षका रूपमा देखिएको छ। हरेलो, विरिजात र बिर्सती मेलामा मात्रै दर्जनौँ महिला खेलाडीले प्रतिस्पर्धा गरेका छन्। यसले किशोरी तथा युवतीलाई खेलकुदमा लाग्न प्रेरित गर्नुका साथै उनीहरूमा आत्मविश्वास र नेतृत्व क्षमताको विकासमा समेत सहयोग पुर्याउने देखिन्छ। स्थानीयका अनुसार मेला–जात्रामा भलिबलको आकर्षण बढेसँगै होटल, यातायात, पसललगायत स्थानीय व्यवसायमा समेत आर्थिक गतिविधि बढ्न थालेको छ। प्रतियोगितालाई व्यवस्थित, नियमित र पारदर्शी बनाउन सके बझाङमा खेलकुद पर्यटनको सम्भावनासमेत विकास गर्न सकिने देखिन्छ। बाहिरी जिल्लाबाट खेलाडी तथा टोलीहरू आउने वातावरण बने उनीहरूले स्थानीय संस्कृति, प्राकृतिक सौन्दर्य र धार्मिकस्थलको अवलोकन गर्ने अवसर पाउने भएकाले यसले बझाङको पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्याउन सक्ने स्थानीयको विश्वास छ। यसरी हेर्दा बझाङका मेला–जात्रामा भलिबल केवल मनोरञ्जनको माध्यम नभई संस्कृति संरक्षण, सामाजिक एकता, महिला सहभागिता र स्थानीय आर्थिक गतिविधिसँग जोडिने नयाँ माध्यमका रूपमा विकास हुँदै गएको छ।