काठमाडौं । गृहमन्त्री सुधन गुरुङले जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आन्दोलनको अपमान गर्नु ३ करोड नेपाली जनताको अपमान हुने बताए।गुरुङले जेन्जी आन्दोलनको इतिहासलाई कसैले पनि बदल्न नसक्ने भन्दै पुराना दलका नेताहरूलाई आन्दोलनलाई विभिन्न ढंगले व्याख्या नगर्न आग्रह गरे। उनले भने, “त्यो दिन इतिहास हो र इतिहास कसैले फेरेर फेरिँदैन। इतिहासलाई फेर्ने कोसिस पनि नगर्नुस्।”
जेन्जी आन्दोलनको इतिहास प्रमाणित गर्न ३ करोड नेपाली जनताले आफूहरूलाई जिताएर पठाएको दाबी गर्दै उनले आन्दोलनलाई अपमान गर्ने प्रयास नगर्न चेतावनी दिए। “यो आन्दोलनलाई अपमान गर्नुहुन्छ भने तपाईंले ३ करोड नेपाली जनतालाई अपमान गरिराख्नुभएको छ,” उनले भने।गृहमन्त्री गुरुङले पुरानो सोचबाट नयाँ नेपाल निर्माण सम्भव नहुने बताए। आफूहरू सत्ता र शक्तिको लोभमा नभएको उल्लेख गर्दै उनले भदौ २३ गते पनि आफूहरू कुनै सत्ताको पक्षमा नरहेको दाबी गरे।
उनले सुशासनको माग गर्दै आन्दोलनमा उत्रिएका युवामाथि सरकारले गोली चलाएको बताए। जेन्जी आन्दोलनका माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो। साथै, पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहले देशमा सुशासन स्थापना गर्न आफूहरूलाई अगाडि सारेको उनले बताए।गुरुङले आफू मन्त्रीका रूपमा काम गर्दा सानो गल्तीसमेत नहोस् भन्नेमा सचेत रहेको बताए। “मलाई सुत्न पनि डर लाग्छ। कुनै दिन मबाट कुनै कमजोरी पो भइहाल्ने हो कि, सयमा दिनुपर्नेमा ९९ मात्र पो दिने हो कि भन्नेमा,” उनले भने। आफू मात्र नभई सरकारका सबै मन्त्रीले जिम्मेवारीअनुसार काम गरिरहेको उनको दाबी थियो।