काठमाडौँ। सङ्घीय संसद्, प्रतिनिधि सभाको बुधबार बस्ने बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले तीन वटा महत्वपूर्ण विधेयक तथा प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची तय भएको छ। सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेद्वारा जारी सम्भावित कार्यसूचीअनुसार भदौ २४ गते बुधबार दिउँसो १ बजे बस्ने बैठकमा कानुन मन्त्रालयसँग सम्बन्धित विषयहरू समावेश गरिएको छ।
सम्भावित कार्यसूचीअनुसार मन्त्री गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ सदनमा प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पेस गर्नेछिन्। अनुमति प्राप्त भएलगत्तै सोही बैठकमा उक्त विधेयक प्रस्तुत गर्ने कार्यक्रमसमेत रहेको छ।
त्यस्तै, मन्त्री गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि सदनसमक्ष प्रस्तुत गर्नेछिन्। यससँगै एसियाली विधायिकी संस्थाहरूको परिषद्सम्बन्धी प्रस्ताव समेत मन्त्री गौतमले पेस गर्ने सम्भावित कार्यसूची तय गरिएको छ।