काठमाडौं । गृहमन्त्री सुधन गुरुङले कसैले एक रुपैयाँ मात्र पनि भ्रष्टाचार गरेको थाहा पाए आफू नेपाली जनताको तर्फबाट त्यसविरुद्ध लड्ने बताएका छन् । मंगलबार जेनजी शहीदहरूको स्मृतिमा आयोजित सभालाई सम्बोधन गर्दै उनले आफूलाई प्राप्त भएको गृहमन्त्रीको पदलाई अधिकार वा सुविधा नभई जिम्मेवारीका रूपमा लिएको बताए । उनले आफूहरू लडेको परिवर्तनलाई संस्थागत गर्न सबैले आफ्नो जिम्मेवारी र भूमिका बुझ्नुपर्ने धारणा राखे ।
‘त्यो परिवर्तन, जसका लागि हामी लडेका थियौं, त्यो कुर्सी जुन मलाई दिइएको छ, त्यो जिम्मेवारी हो । त्यो कुर्सीमा तपाईं नै हुनुहुन्छ भनेर सोच्नुपर्यो,’ गुरुङले भने । उनले आफू इमानदारीका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै कसैले भ्रष्टाचार गरेको प्रमाणित वा थाहा भएमा त्यसविरुद्ध दृढतापूर्वक उभिने बताए । ‘इमानदारीका साथ छाती चौडा बनाएर, शीर उच्च बनाएर म भन्न सक्छु—एक रुपैयाँ कसैले भ्रष्टाचार गरेको थाहा भयो भने गृहमन्त्री तीन करोड नेपाली जनताको तर्फबाट लड्नेवाला छ,’ उनले भने ।