• २०८३ कार्तिक २७ गते बिहिवार
  • Preeti To Unicode

बर्थिङ सेन्टर बन्द हुँदा सेवाग्राही समस्यामा

बर्थिङ सेन्टर बन्द हुँदा सेवाग्राही समस्यामा

सप्तरी । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–५ वरसाइनस्थित स्वास्थ्यचौकीमा रहेको बर्थिङ सेन्टर बन्द हुँदा स्थानीय गर्भवती तथा प्रसूतिलाई समस्या भएको छ । चौबीसै घण्टा प्रसूति सेवा उपलब्ध गराउने उद्देश्यले निर्माण गरिएको बर्थिङ सेन्टरको विसं २०७९ चैत १५ गते शुभारम्भ गरिएको थियो । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको स्वीकृत बजेटबाट निर्माण गरिएको उक्त केन्द्र पछिल्लो समय दक्ष जनशक्ति, आवश्यक उपकरण तथा आर्थिक अभावका कारण सञ्चालनमा आउन नसकेको स्थानीयवासीले बताएका छन् ।

वरसाइन स्वास्थ्यचौकीका प्रमुख मनोज देवका अनुसार बर्थिङ सेन्टर सञ्चालन भएको चार वर्षको अवधिमा एक जनाले मात्र सेवा लिएका छन् । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख शैलेश झाले लौनिया र तोपामा बर्थिङ सेन्टर सञ्चालनमा रहेको जानकारी दिँदै वरसाइनमा पनि सेवा सञ्चालन गर्ने गाउँपालिकाको नीति रहेको बताए । स्थानीयवासी सीता मण्डलले गाउँमै बर्थिङ सेन्टर भए पनि सञ्चालनमा नहुँदा प्रसूति सेवाका लागि बाहिर जानुपर्ने बाध्यता रहेको गुनासो गरिन् ।

तिलाठी कोइलाडी–५ का वडाध्यक्ष ललनप्रसाद राउतले कर्मचारीको अभावका कारण बर्थिङ सेन्टर बन्द भएको बताए । हाल स्वास्थ्यचौकीमा चार जना कर्मचारी र एक जना कार्यालय सहयोगी कार्यरत रहे पनि प्रसूति सेवा सञ्चालनका लागि आवश्यक दक्ष जनशक्ति व्यवस्थापन हुन नसकेको गाउँपालिकाले जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत सरोजकुमार कर्णले दक्ष जनशक्तिको अभावमा बर्थिङ सेन्टर सञ्चालनमा समस्या भएको बताए । तत्कालीन समयमा वडा कार्यालयको बजेटबाट बर्थिङ सेन्टर सञ्चालन गर्ने प्रतिबद्धता गरिए पनि प्रभावकारी रूपमा सञ्चालन हुन नसक्दा स्थानीयवासीले गाउँमै प्रसूति सेवा पाउन सकेका छैनन् ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार