• २०८३ कार्तिक २६ गते बुधवार
  • Preeti To Unicode

लोकतन्त्र र साहित्यका शिखर व्यक्तित्व बिपी कोइरालाको ११३औँ जन्मजयन्ती देशभर मनाइँदै

लोकतन्त्र र साहित्यका शिखर व्यक्तित्व बिपी कोइरालाको ११३औँ जन्मजयन्ती देशभर मनाइँदै

काठमाडौँ । नेपालको राजनीति र साहित्यमा महत्त्वपूर्ण योगदान पुर्‍याएका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको ११३औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज देशभर मनाइँदैछ। विसं १९७१ भदौ २४ गते जन्मिएका कोइरालाले नेपालमा प्रजातन्त्र स्थापना र पुनःस्थापनाका लागि लामो तथा कठोर संघर्ष गरेका थिए। भारत निर्वासनका क्रममा उनले भारतको स्वतन्त्रता आन्दोलनमा समेत सहभागिता जनाएका थिए। नेपालमा प्रजातन्त्र स्थापना गर्ने उद्देश्यले विसं २००३ मा उनको नेतृत्वमा नेपाली राष्ट्रिय कांग्रेस स्थापना भएको थियो। पछि नेपाली राष्ट्रिय कांग्रेस र सुवर्णशम्शेरको नेतृत्वमा स्थापित नेपाल प्रजातन्त्र कांग्रेसबीच एकीकरण भएपछि २००७ सालको क्रान्ति सफल भएको थियो।

क्रान्तिपछि बनेको राणा–कांग्रेस सरकारमा गृहमन्त्री बनेका कोइराला विसं २०१५ को आमनिर्वाचनमा नेपाली कांग्रेसले दुईतिहाइ बहुमत प्राप्त गरेपछि नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री बने। प्रधानमन्त्रीका रूपमा उनले राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई राजनीतिक आदर्शका रूपमा अघि बढाउँदै बिर्ता उन्मूलन तथा भूमि सुधारका कार्यक्रम सञ्चालन गरे। विसं २०१७ पुस १ गते राजा महेन्द्रले जननिर्वाचित सरकार अपदस्थ गरेपछि कोइरालालगायत नेताहरूलाई बन्दी बनाइएको थियो। पछि स्वास्थ्य परीक्षणका लागि विसं २०२५ मा जेलमुक्त भएका कोइरालाले आठ वर्ष भारतमा निर्वासित जीवन बिताए। राष्ट्रियता कमजोर भएको निष्कर्षसहित उनले विसं २०३३ पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्किए। बहुदल वा सुधारिएको पञ्चायतमध्ये एक रोज्ने गरी भएको जनमतसङ्ग्रहको परिणामलाई समेत उनले स्वीकार गरेका थिए।

क्यान्सर रोगका कारण विसं २०३९ साउन ६ गते उनको निधन भयो। राजनीतिसँगै नेपाली साहित्यमा समेत विशिष्ट योगदान पुर्‍याएका कोइरालालाई नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तकका रूपमा चिनिन्छ। उनका तीन घुम्ती, मोदी आइन, हिटलर र यहुदी, सुम्निमा, नरेन्द्रदाई तथा बाबु, आमा र छोराजस्ता उपन्यास तथा दोषी चश्मा र श्वेत भैरवीजस्ता कथा सङ्ग्रह चर्चित छन्। उनका आत्मवृत्तान्त, जेल जर्नल र फेरि सुन्दरीजलले नेपालको तत्कालीन राजनीतिक अवस्थाको यथार्थ चित्रण गरेका छन्। बिपीको जीवन र योगदानलाई संरक्षण तथा प्रचार गर्ने उद्देश्यले सुन्दरीजलस्थित तत्कालीन बन्दीगृहलाई २०६१ साल भदौ २४ गते बिपी सङ्ग्रहालयका रूपमा उद्घाटन गरिएको थियो। सङ्ग्रहालयमा उनका जीवनसँग सम्बन्धित महत्त्वपूर्ण सामग्रीसँगै २००७ सालको क्रान्तिमा प्रयोग गरिएको ट्याङकर र २०३० सालमा कांग्रेसले अपहरण गरेको नेपाल वायु सेवा निगमको विमानसमेत राखिएको छ। बिपी जयन्तीका अवसरमा नेपाली कांग्रेस, भ्रातृ तथा शुभेच्छुक संस्था र बिपी सङ्ग्रहालयले देशभर विभिन्न कार्यक्रम आयोजना गरेका छन्।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार