• २०८३ कार्तिक २६ गते बुधवार
  • Preeti To Unicode

बाढीपछि ग्यास आपूर्ति सहज बनाउन नयाँ व्यवस्था

बाढीपछि ग्यास आपूर्ति सहज बनाउन नयाँ व्यवस्था

काठमाडौँ । काठमाडौँ उपत्यकामा हालै आएको बाढीका कारण देखिएको एलपी ग्यासको आपूर्ति समस्या समाधान गर्न सरकारले अस्थायी नयाँ व्यवस्था लागू गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउने विषयमा सम्बन्धित निकायसँग छलफल गरेपछि यस्तो व्यवस्था गरिएको हो।

नयाँ व्यवस्थाअनुसार उपत्यकाभित्र एउटा कम्पनीको खाली सिलिन्डर दिएर अर्को कम्पनीको भरिएको सिलिन्डर सोही मूल्यमा साट्न पाइनेछ। आफूले प्रयोग गर्दै आएको ब्रान्ड बजारमा उपलब्ध नभएमा उपभोक्ताले अन्य कम्पनीको सिलिन्डरमार्फत पनि ग्यास खरिद गर्न सक्नेछन्।

बाढीका कारण ग्यासको आपूर्ति प्रणाली प्रभावित भएकाले तत्कालका लागि यो व्यवस्था गरिएको सरकारले जनाएको छ। यसबाट उपभोक्ताले आफूले नियमित रूपमा प्रयोग गर्दै आएको ब्रान्ड नपाउँदा पनि सहज रूपमा ग्यास प्राप्त गर्न सक्ने अपेक्षा गरिएको छ।

मन्त्री यादवले उक्त निर्णय कडाइका साथ कार्यान्वयन गर्न नेपाल आयल निगम तथा ग्यास उद्योगहरूलाई निर्देशन दिएकी छन्। साथै, संकटको मौका छोपेर कृत्रिम अभाव सिर्जना गर्ने, उपभोक्तालाई दुःख दिने वा तोकिएको नियम पालना नगर्ने व्यवसायी तथा उद्योगीमाथि प्रचलित कानुनबमोजिम कारबाही गरिने मन्त्रालयले चेतावनी दिएको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार