काठमाडौँ । बाढीका कारण आपूर्ति प्रणाली प्रभावित भएपछि काठमाडौं उपत्यकामा एलपी ग्यासको आपूर्ति असहज बनेको छ। उपभोक्तालाई राहत दिन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले सम्बन्धित निकायलाई ग्यासको सहज उपलब्धताका लागि आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएकी छन्।
मन्त्री यादवले काठमाडौं उपत्यकाभित्र जुनसुकै कम्पनीको सिलिन्डर भए पनि साटेर ग्यास उपलब्ध गराउने व्यवस्था मिलाउन निर्देशन दिएकी हुन्। एउटा कम्पनीको सिलिन्डर उपलब्ध नभएको अवस्थामा अर्को कम्पनीको सिलिन्डरसँग समान मूल्यमा इन्टरचेञ्ज गरी ग्यास उपलब्ध गराउन उनले निर्देशन दिएकी छन्। मन्त्रीको सचिवालयले बुधबार जारी गरेको जानकारीअनुसार यो व्यवस्था लागू भएपछि उपभोक्ताले आफूले प्रयोग गर्दै आएको ब्रान्डको सिलिन्डर तत्काल नपाएमा अन्य कम्पनीको सिलिन्डरमार्फत पनि ग्यास लिन सक्नेछन्।
प्राकृतिक विपद्का रूपमा आएको बाढीका कारण उत्पन्न आपूर्ति समस्यालाई तत्काल सम्बोधन गर्दै उपभोक्तालाई सहज रूपमा एलपी ग्यास उपलब्ध गराउने उद्देश्यले यो कदम चालिएको मन्त्री यादवको सचिवालयले जनाएको छ।