काठमाडौँ । ‘जेनजी आन्दोलन’का शहीदहरूको सम्झनामा मंगलबार राजधानीको नयाँ बानेश्वरमा आयोजित कार्यक्रममा विवादित धर्मगुरु बालयोगेश्वर विजय कृष्णमूर्ति (विजय भण्डारी) र श्रीनिवास आचार्यको सहभागितालाई लिएर विवाद उत्पन्न भएको छ। कार्यक्रममा गृहमन्त्री सुधन गुरुङ प्रमुख अतिथिका रूपमा उपस्थित थिए भने कानुनमन्त्री सोबिता गौतम, विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन, पूर्वाधारमन्त्री सुनिल लम्साललगायतको उपस्थिति थियो। तर, विवादित पृष्ठभूमिका धर्मगुरुहरू मन्त्रीहरूभन्दा अगाडि मञ्चमा बसेपछि सामाजिक सञ्जाल तथा सार्वजनिक वृत्तमा आलोचना र प्रश्न उठेका छन्। यस विषयमा रास्वपाका सांसद अमरेश कुमार सिंह तथा महामन्त्री विपिन आचार्यले समेत प्रश्न उठाएका छन्। ‘जेनजी शहीद परिवार कल्याणकारी समाज’ले आयोजना गरेको उक्त कार्यक्रममा सबै धर्म र सम्प्रदायलाई समेट्ने उद्देश्यले धर्मगुरुहरूलाई निम्त्याइएको आयोजकका कार्यकारी सचिव रोशन गौतमले बताएका छन्। उनले धर्मगुरुहरूको विवादित पृष्ठभूमिबारे आफूहरूलाई जानकारी नभएको र मञ्च व्यवस्थापनमा कमजोरी भएको स्वीकार गर्दै यस विषयमा पत्रकार सम्मेलनमार्फत स्पष्ट पार्ने बताएका छन्। विजय भण्डारी धार्मिक कार्यक्रमका नाममा ठगी तथा वैदेशिक रोजगारीसम्बन्धी कसुरमा विवादित छन् भने श्रीनिवास आचार्य विगतमा आफैंमाथि गोली चलाउन लगाएर साम्प्रदायिक तनाव भड्काउन खोजेको घटनाका कारण विवादित बनेका थिए।