काठमाडौं । बालेन सरकारका आठ जना मन्त्री सहभागी भएर सोमबार आयोजित जेनजी दिवसको कार्यक्रमलाई लिएर सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रै असन्तुष्टि देखिएको छ। कार्यक्रमको ढाँचा, अतिथिको उपस्थिति तथा गृहमन्त्री सुधन गुरुङको अभिव्यक्तिलाई लिएर पार्टीकै नेताहरूले सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गरेका हुन्।रास्वपाको ‘कोर क्याम्प’ भित्रै कार्यक्रमको आयोजनालाई लिएर प्रश्न उठेको छ। केही नेताले प्रत्यक्ष रूपमा कार्यक्रमको आलोचना गरेका छन् भने केहीले गृहमन्त्री गुरुङको अभिव्यक्तिलाई लक्षित गर्दै लाक्षणिक टिप्पणी गरेका छन्। पार्टीभित्रैबाट आएका यस्ता अभिव्यक्तिले जेनजी दिवसको कार्यक्रमलाई लिएर रास्वपामा असन्तुष्टि बढेको संकेत गरेको छ।रास्वपाका नेताले सामाजिक सञ्जालमा ‘बदल्छौं’ भन्नेहरू नै बदलिँदै त छैनौँ भन्दै प्रश्न उठाएका छन्। उक्त टिप्पणीलाई हिजो कार्यक्रममा गृहमन्त्री गुरुङले दिएको भाषणप्रति लक्षित भएको रूपमा बुझिएको छ। गृहमन्त्रीले पुराना राजनीतिक दललाई ‘सुध्रिन’ चेतावनी दिँदै आफूहरू राजनीति सिक्न नभएर सिकाउन आएको बताएका थिए।रास्वपा संस्थापक समूहकी नेतृ तथा संसदीय दलकी सचेतक क्रान्तिशिखा धितालले पनि गृहमन्त्रीको अभिव्यक्तिमाथि परोक्ष प्रश्न उठाएकी छन्। उनले ‘सुध्रिनु अरूले मात्रै पर्ने, हामीले चाहिँ सुध्रिनु नपर्ने?’ भन्दै सामाजिक सञ्जालमा लेखेकी छन्। धितालले आफूहरू पोहोर साल प्रेस स्वतन्त्रता कायम हुनुपर्ने, सत्ता निरंकुश बन्न नहुने र जिम्मेवारीमा रहेका व्यक्ति आफ्नो स्थानमा बस्नुपर्ने मागसहित सडकमा उत्रिएको स्मरणसमेत गराएकी छन्।
‘हामीले राज्यलाई प्रश्न गरेका थियौँ, सत्तालाई विनम्र हुन भनेका थियौँ,’ धितालले लेखेकी छन्, ‘अहिले हामीमाथि प्रश्न गर्नेहरूलाई किन हामी धम्की र चेतावनीको भाषा बोल्दै छौँ? के आज हामी अभिव्यक्ति स्वतन्त्रतालाई बल पुग्ने काम गर्दैछौँ? कि हामी बाँकी अधिकारको पनि तेजोबध गर्न उद्धत छौँ?’त्यस्तै, रास्वपाका महामन्त्री विपीन आचार्यले पनि गृहमन्त्री गुरुङलाई लक्षित हुने गरी ‘अहङ्कारः विनाशस्य मूलम्’ अर्थात् अहङ्कार नै विनाशको मूल कारण भएको टिप्पणी गरेका छन्। उनको यो टिप्पणी पनि गृहमन्त्रीको अभिव्यक्तिप्रति असन्तुष्टिका रूपमा हेरिएको छ।रास्वपा सभापति रवि लामिछाने निकट नेताहरूबाट मात्रै नभई बालेन निकट नेताबाट समेत गृहमन्त्रीप्रति असन्तुष्टि व्यक्त भएको छ। बालेनका विश्वासपात्र सांसद राजु पाण्डेले सामाजिक सञ्जालमा ‘जिम्मेवारीमा पुगिसकेकाले जिम्मेवारी खोसिएकालाई गाली गर्नु लाजास्पद हो’ भन्दै टिप्पणी गरेका छन्।जेनजी दिवसको कार्यक्रममा गृहमन्त्री गुरुङले पुराना दलका नेताहरूलाई आफ्नो आन्दोलनलाई विभिन्न तरिकाले व्याख्या नगर्न आग्रह गर्दै ‘इतिहास कसैले फेरेर फेरिँदैन’ भनेका थिए। उनले जेनजी आन्दोलनलाई अपमान गर्नु तीन करोड नेपाली जनताको अपमान भएको दाबी गर्दै पुराना दललाई अझै समय रहेको भन्दै सुध्रिन चेतावनी दिएका थिए।
गुरुङले जेनजीका माग पूरा हुनबाट कसैले रोक्न नसक्ने दाबीसमेत गरेका थिए। उनले आफ्नो माग पूरा हुन नदिए देशमा अर्को गोली चल्नुपर्ने अवस्था आउन सक्ने र आफूलाई अर्को गोलीले मात्रै ढाल्न सक्ने भन्दै उत्तेजक अभिव्यक्ति दिएका थिए।त्यसैगरी, आफूहरूको पुस्ताको बोली, व्यवहार र प्रस्तुतिलाई लिएर भइरहेको आलोचनाको प्रतिवाद गर्दै गुरुङले ‘हामी राजनीति सिक्न आएको होइन, सिकाउन आएको हो’ भनेका थिए। उनले आफूहरू परम्परागत राजनीतिक संस्कार परिवर्तन गर्न आएको दाबी गर्दै आफूहरूको सरकार चुनाव जितेर दुई तिहाइ बहुमतसहित बनेको बताएका थिए।गृहमन्त्रीले सञ्चारमाध्यमप्रति समेत टिप्पणी गरेका थिए। पत्रकारहरूले आफ्नो काम गरिरहेको भन्दै सम्मान व्यक्त गरे पनि केही पत्रकारले आफ्नो राजनीतिक दलसँगै सुध्रिनुपर्ने उनको भनाइ थियो। यही अभिव्यक्तिपछि रास्वपाभित्रैबाट आएका लगातारका टिप्पणीले गृहमन्त्री गुरुङको अभिव्यक्तिलाई लिएर पार्टीमा असन्तुष्टि रहेको देखाएको छ।यसैबीच, पार्टी सभापति रवि लामिछानेका विश्वासपात्र मानिने संगठन विभाग प्रमुख प्रमोद न्यौपानेले समेत सोमबार साँझ सामाजिक सञ्जालमा गरेको टिप्पणी चर्चामा आएको छ। न्यौपानेको उक्त टिप्पणीले पनि गृहमन्त्रीको अभिव्यक्तिलाई लिएर पार्टीभित्र देखिएको असन्तुष्टिलाई थप बल दिएको छ।