काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विदुषी राणाले बाढीपहिरोपछि भइरहेको उद्धार, राहत, पुनर्निर्माण तथा अर्थतन्त्रमा परेको प्रभावबारे सरकारसँग गम्भीर प्रश्न उठाएकी छन्। बुधबार सङ्घीय संसद् अर्थ समितिको बैठकमा बोल्दै उनले विपद्पछिको उद्धार तथा खोजी कार्यमा देखिएको ढिलाइ, होल्डिङ सेन्टरमा महिला तथा बालबालिकाको सुरक्षा, पुनर्निर्माणका लागि आवश्यक बजेटको स्रोत तथा जलविद्युत् क्षेत्रमा भएको क्षतिबारे सरकारको ध्यानाकर्षण गराएकी हुन्।
सांसद राणाले अझै ठूलो सङ्ख्यामा नागरिक सम्पर्कविहीन रहेको भन्दै खोजी कार्यको अवस्थाबारे सरकारसँग जवाफ मागिन्। उनले त्रिशूली थ्री ए लगायतका जलविद्युत् आयोजनामा खोजी कार्य रोकिएको भए त्यसको कारण स्पष्ट गर्न आग्रह गरिन्। विपद्पछि स्थापना गरिएका ३५ भन्दा बढी होल्डिङ सेन्टरमा महिला तथा बालबालिकाको सुरक्षामा समेत गम्भीर जोखिम रहेको उनको भनाइ थियो। एउटै टेन्टमा सबैलाई राख्दा मानव बेचबिखन तथा यौन दुर्व्यवहारका घटना हुनसक्ने जोखिम औँल्याउँदै उनले परिवारलाई सँगै राख्नुपर्ने अवस्थालाई पनि सुरक्षित रूपमा व्यवस्थापन गर्न सरकारसँग माग गरिन्।
सीमा क्षेत्रमा जडान गरिएका सेन्सरले खतराको सूचना दिए पनि नेपाल र चीनबीच वास्तविक समयमा तथ्याङ्क आदानप्रदान हुन नसक्दा पूर्वसूचना प्रणाली प्रभावकारी बन्न नसकेको राणाले बताइन्। यस समस्यालाई समाधान गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग के योजना र बजेट छ भन्ने प्रश्न गर्दै उनले हिमताल फुट्ने जोखिम तथा नदी बेसिनको पहिचानका लागि चीनसँग भइरहेको सहकार्यबारे पनि जानकारी मागिन्।
पुनर्निर्माणका लागि अर्थ मन्त्रालयले करिब ४ देखि ५ अर्ब अमेरिकी डलर, अर्थात् करिब ७ खर्ब ६२ अर्ब रुपैयाँ आवश्यक पर्ने अनुमान गरेको विषय उठाउँदै राणाले उक्त रकम कहाँबाट जुटाउने भन्ने प्रश्न गरिन्। आन्तरिक स्रोत, वैदेशिक ऋण वा अनुदानमध्ये कुन माध्यमबाट स्रोत व्यवस्थापन गरिने हो भन्ने स्पष्ट पार्न आग्रह गर्दै उनले ऋण लिँदा चालू वर्षको बज