भोटेकोशी बाढीपीडितलाई पोखराका कवाडी व्यवसायीको १० लाखको राहत

भोटेकोशी बाढीपीडितलाई पोखराका कवाडी व्यवसायीको १० लाखको राहत

पोखरा । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारका लागि पोखराका कवाडी व्यवसायीहरूले करिब १० लाख रुपैयाँ बराबरको राहत सामग्री सहयोग गरेका छन्। युवा व्यवसायी सुजन गुरुङको विशेष पहल तथा आह्वानमा कवाडी व्यवसायीहरूबाट सङ्कलित रकमबाट भान्साका सामग्री खरिद गरी पोखरा महानगरपालिकामार्फत बाढी प्रभावित क्षेत्रमा पठाउन लागिएको हो।व्यवसायीहरूले सङ्कलन गरेको रकममध्ये ८ लाख रुपैयाँ बराबरको सामग्री खरिद गरिएको र ढुवानी खर्चसहित कुल १० लाख रुपैयाँ बराबरको सहयोग जुटाइएको बताएका छन्। राहत सामग्री पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलाई हस्तान्तरण गरिएको छ।बाढीपीडित परिवारका लागि १ सय ३० थान प्रेसर कुकर, १ सय ६५ थान कराई, १ सय ६५ थान डाडु र १ सय ६५ थान पन्यूँ सहयोग गरिएको छ। त्यस्तै, ६ सय थान थाल, ६ सय थान कचौरा, ६ सय थान गिलास र ६ सय थान चम्चा उपलब्ध गराइएको छ। उक्त सामग्री १ सय ६५ परिवारका लागि पुग्ने गरी व्यवस्था गरिएको हो।

युवा व्यवसायी गुरुङले बाढीका कारण धेरै परिवारले घरबारसँगै खाना पकाउने भाँडाकुँडासमेत गुमाएको अवस्थामा सहयोग गरिएको बताए। “भोटेकोशीमा आएको बाढीले धेरै दाजुभाइ–दिदीबहिनीको बास मात्र होइन, गाँस पकाउने भाँडाकुँडासमेत बगाएर बिचल्ली बनाएको छ,” उनले भने, “यस्तो विषम परिस्थितिमा पोखरामा पसिना बगाउने कवाडी व्यवसायी साथीहरूलाई एकजुट बनाएर हामीले यो सानो सहयोग जुटाएका हौँ। हाम्रो यो प्रयासले बाढीपीडितको चुलो बल्न सकोस् र घाउमा थोरै भए पनि मलम लागोस् भन्ने हाम्रो चाहना हो।”विपद्का बेला पीडामा परेका नागरिकलाई सहयोग गर्नु सबैको मानवीय दायित्व भएको गुरुङले बताए। सामग्री बुझ्दै पोखरा महानगरपालिकाका प्रमुख आचार्यले कवाडी व्यवसायीहरूले देखाएको सामाजिक उत्तरदायित्वको प्रशंसा गरे। “विपद् कुनै भूगोल वा क्षेत्र विशेषको मात्र हुँदैन, यो साझा पीडा हो,” उनले भने, “पोखराका कवाडी व्यवसायीहरूले देखाउनुभएको यो आत्मीयता र सहयोग साँच्चिकै प्रशंसनीय छ।”

महानगरपालिकाका अनुसार प्राप्त भान्साका सामग्रीलाई प्रतिपरिवार प्याकेजका रूपमा तयार गरी १ सय ६५ घरधुरीलाई वितरण गरिनेछ। राहत सामग्री तीनवटा गाडीमा लोड गरी प्रभावित क्षेत्रतर्फ पठाउने तयारीसमेत गरिएको छ। भाँडाकुँडाबाहेक कवाडी व्यवसायीहरूले लत्ताकपडा, सिरक र डसना लगायतका सामग्रीसमेत सहयोगका लागि सङ्कलन गरेका छन्।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार