काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले भोटेकोशी बाढीले अर्थतन्त्रमा पारेको प्रभाव तथा जलवायु वित्तसम्बन्धी अध्ययन र विश्लेषण गर्ने भएको छ। अध्ययनका लागि सांसद सुशिल खड्काको संयोजकत्वमा सात सदस्यीय उपसमिति गठन गरिएको छ।
अर्थ समितिको सिंहदरबारमा बसेको बैठकले खड्काको संयोजकत्वमा उपसमिति गठन गरेको हो। उपसमितिका सदस्यमा सांसद नरेन्द्रकुमार केरुङ, परशुराम तामाङ, डा. पुष्पराज कँडेल, लिमा अधिकारी, पुष्प चौधरी र सुशान्त वैदिक रहेका छन्।
समितिका सभापति डा. कृष्णहरि बुढाथोकीका अनुसार उपसमितिलाई रसुवा बाढीले अर्थतन्त्रमा पारेको प्रभाव तथा जलवायु वित्तसँग सम्बन्धित विषयमा अध्ययन गरी असोज २ गतेभित्र प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको छ। उपसमितिले बाढीबाट भएको आर्थिक क्षति, त्यसको समग्र प्रभाव तथा जलवायु वित्तसँग सम्बन्धित विषयमा अध्ययन गरी समितिसमक्ष प्रतिवेदन बुझाउनेछ।