काठमाडौं । रसुवाको चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र जारी उद्धार कार्यमा सहजीकरण तथा प्राविधिक सहयोग गर्न कुलमान घिसिङ आफ्नो प्राविधिक टोलीसहित आयोजनास्थल पुगेका छन्। नेपाली सेनाको आग्रहपछि आफूहरू चिलिमे पुगेको घिसिङले बताएका छन्। सुरुङभित्रको उद्धार कार्यलाई प्रभावकारी रूपमा अगाडि बढाउने विषयमा घिसिङसहितको टोलीले नेपाली सेनासँग आवश्यक छलफल गरिसकेको छ भने छलफलपछि टोली कार्यस्थलमा परिचालित भएको छ। चिलिमे आयोजनास्थलमा घिसिङले यसअघि चार वर्ष प्रत्यक्ष रूपमा बसेर काम गरेको अनुभव छ। साथै, नेपाल विद्युत् प्राधिकरणमा रहँदा उनले सो क्षेत्रसँग सम्बन्धित रहेर थप आठदेखि नौ वर्ष काम गरेका थिए। सुरुङको भौगर्भिक बनावट तथा आयोजनासँगको लामो कार्यअनुभवका कारण सेनाले उनलाई प्राविधिक सहयोगका लागि बोलाएको हो। हाल सुरुङभित्र जनशक्तिमार्फत उद्धार कार्य भइरहेको छ भने उद्धारलाई तीव्र बनाउन एक्सकाभेटर प्रयोग गर्ने निर्णय गरिएको छ। कार्यस्थलमा एक्सकाभेटर पुर्याउने काम भइरहेको र आज बेलुका वा भोलि बिहानसम्म सुरुङभित्र एक्सकाभेटर छिराएर उद्धार कार्यलाई तीव्रता दिने तयारी रहेको घिसिङले बताएका छन्। उद्धार कार्यमा निरन्तर सहयोग तथा नेपाली सेनाको टोलीसँग समन्वय गर्न घिसिङसहितको प्राविधिक टोली भोलिसम्म घटनास्थलमै रहनेछ।