काठमाडौं । रास्वपा सांसद रचना खतिवडा खत्रीले जेन–जी आन्दोलनका शहीद तथा घाइते परिवारप्रति सरकारले पर्याप्त चासो नदिएको भन्दै प्रधानमन्त्री बालेन शाहप्रति असन्तुष्टि व्यक्त गरेकी छन्। जेन–जी आन्दोलन भएको एक वर्ष पूरा हुँदा पनि शहीद परिवारले न्याय र उचित सम्मान पाउन नसकेको उनको गुनासो छ।
सांसद खतिवडाले प्रधानमन्त्री शाहलाई शहीदको स्मृति कार्यक्रममा सहभागी हुन तथा शहीदका नाममा केही बोलिदिन आग्रह गर्दासमेत लामो समयसम्म बेवास्ता गरिएको बताइन्। उनले भनिन्, “जेन–जी आन्दोलन भएको एक वर्ष भयो। देशले शहीद पायो, एकदिन बिदा पायो। निमन्त्रणा दिएर कि त आइदिनुस्, केही न केही बोलिदिनुस्, केही त जेनजी शहीदको नाममा केही लेखिदिनुस् भनेर बिहान सात बजेदेखि भन्दा-भन्दा बेलुकी सात बजे स्टाटस त आयो। अन्ततः एक वर्षपछि शहीदलाई श्रद्धाञ्जली !”
उनले सदनमार्फत प्रधानमन्त्री शाहसमक्ष शहीद परिवार र घाइते परिवारले न्याय तथा राज्यको साथ पाउने समयबारे प्रश्नसमेत गरिन्। खतिवडाले भनिन्, “शहीदले न्याय कति वर्षमा पाउँछ? शहीद परिवार र घाइते परिवारलाई भेट्न कति वर्ष लाग्छ?”
उनको अभिव्यक्तिले जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका तथा घाइते भएका व्यक्तिका परिवारप्रति सरकारको जिम्मेवारी र जवाफदेहितामाथि गम्भीर प्रश्न उठाएको छ। श्रद्धाञ्जली र औपचारिक घोषणाभन्दा पनि पीडित परिवारले न्याय, सम्मान र राज्यको प्रत्यक्ष सहयोग कहिले पाउने भन्ने विषयमा सरकारले स्पष्ट जवाफ दिनुपर्ने उनको जोड छ।