विपत्तिमा राजनीति होइन, एकता आवश्यक : सभापति लामिछाने

विपत्तिमा राजनीति होइन, एकता आवश्यक छ : सभापति लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपत्तिको समयमा सरकार र प्रतिपक्षको दृष्टिकोणबाट नभई राष्ट्रिय एकताको भावनाबाट अघि बढ्नुपर्ने बताएका छन्। प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले बाढी–पहिरो प्रभावित क्षेत्रमा सरकारले गरिरहेको उद्धार तथा राहत कार्यको प्रशंसा गरे।लामिछानेले विपत्तिको संवेदनशील समयमा सरकारले सञ्चालन गरेको हवाई उद्धार तथा राहत वितरणको व्यवस्थापन प्रशंसनीय रहेको बताए। प्रतिकूल मौसम र सडक अवरोधका बाबजुद उद्धारकर्मीहरूले जोखिम मोलेर घटनास्थलमा पुगेर गरेको कामको पनि उनले उच्च कदर गरे। उनका अनुसार यसपटकको हवाई उद्धारको प्रयास व्यवस्थित र प्रभावकारी देखिएको छ।उनले विपद्ग्रस्त क्षेत्रलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरेर राहत तथा पुनर्स्थापनाको कामलाई तीव्रता दिइएकोमा सरकारको कदम सकारात्मक रहेको बताए। साथै, विपत्तिको समयमा समेत केही व्यक्तिहरू राजनीतिक खिचातानीमा लागिरहेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे।लामिछानेले अहिलेको प्राथमिकता राजनीति गर्नु नभई नागरिकको जीवन बचाउनु र भविष्यमा यस्ता विपत्ति दोहोरिन नदिन बलिया तथा सुरक्षित संरचनाको खाका तयार गर्नु रहेको बताए। उनले कठिन परिस्थितिमा राज्यका संयन्त्र र नागरिक समाज एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार