धनकुटा । धनकुटामा प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित ट्रक बरामद गरेको छ। प्रहरीले १ हजार २४० दशमलव ६ किलोग्राम गाँजा बरामद गरेको हो। साँगुरीगढी गाउँपालिका–७ फेदीस्थित कोशी लोकमार्गमा गएराति चेकजाँचका क्रममा धनकुटाबाट भेडेटारतर्फ जाँदै गरेको ना.४ ख ५२७ नम्बरको ट्रक नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ। सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेस मुलघाटबाट खटिएको टोलीले ट्रक रोक्न संकेत गर्ने क्रममा चालक अचानक ट्रकबाट हाम फालेर फरार भएका थिए। चालकको व्यवहार शंकास्पद लागेपछि सशस्त्र प्रहरीले नेपाल प्रहरीको प्रहरी चौकी मुलघाटलाई खबर गरी ट्रकको खानतलासी गर्दा ठूलो परिमाणमा गाँजा फेला परेको हो। बरामद गाँजा र ट्रकलाई जिल्ला प्रहरी कार्यालय धनकुटामा ल्याई नापतौल गर्दा गाँजाको कुल तौल १ हजार २४० दशमलव ६ किलोग्राम रहेको पुष्टि भएको प्रहरीले जनाएको छ। फरार चालकको खोजी भइरहेको छ। पछिल्लो समय कोशी लोकमार्गको धनकुटा खण्ड हुँदै ठूलो परिमाणमा गाँजा ओसारपसार भइरहेको सूचनाका आधारमा प्रहरीले निगरानी तथा चेकजाँचलाई तीव्र बनाउँदै आएको जनाएको छ।