काठमाडौं। गत भदौ १० गते भोटेकोशीमा आएको बाढीबाट प्रभावित नेपाललाई श्रीलङ्काले १० लाख अमेरिकी डलर आर्थिक सहयोग गरेको छ। नेपालका लागि श्रीलङ्काकी राजदूत रुवान्थी डेल्पिटियाले आज परराष्ट्रमन्त्री शिशिर खनालसँग भेट गरी उक्त सहयोग रकम हस्तान्तरण गरेकी हुन्। सहयोग हस्तान्तरणका क्रममा परराष्ट्रमन्त्री खनालले विपद्को कठिन समयमा नेपालप्रति ऐक्यबद्धता जनाउँदै राहत तथा मानवीय प्रयासका लागि आर्थिक सहयोग उपलब्ध गराएकोमा श्रीलङ्का सरकार र जनताप्रति कृतज्ञता व्यक्त गरे। उनले श्रीलङ्काको सहयोगले नेपाल र श्रीलङ्काबीच रहेको मित्रता, पारस्परिक सहयोग र सहकार्यलाई प्रतिबिम्बित गरेको बताए। यस्तै, राजदूत डेल्पिटियाले बाढीका कारण भएको जनधन तथा पूर्वाधारको क्षतिप्रति श्रीलङ्का सरकार र जनताको तर्फबाट दुःख व्यक्त गर्दै नेपाल सरकार र नेपाली जनताप्रति ऐक्यबद्धता प्रकट गरिन्।