• २०८३ भाद्र २५ गते बिहिवार
  • Preeti To Unicode

ब्रह्माण्डको विस्तार तीव्र भइरहेको सिद्धान्तमाथि नयाँ अध्ययनको प्रश्न

ब्रह्माण्डको विस्तार तीव्र भइरहेको सिद्धान्तमाथि नयाँ अध्ययनको प्रश्न

काठमाडौं । टाटा इन्स्टिच्युट अफ फण्डामेन्टल रिसर्च (टीआईएफआर) र अक्सफोर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले गरेको नयाँ अध्ययनले डार्क इनर्जीका कारण ब्रह्माण्ड तीव्र गतिमा विस्तार भइरहेको मान्यतामाथि प्रश्न उठाएको छ। मन्थली नोटिस अफ द रोयल एस्ट्रोनोमिकल सोसाइटीमा प्रकाशित अध्ययनमा अनुसन्धानकर्ताहरूले १ हजार ७ सयभन्दा बढी ‘टाइप वन ए’ सुपरनोभाको डेटा पुनःविश्लेषण गर्दै सुपरनोभाको चमक त्यसलाई जन्माउने ताराको उमेरसँग सम्बन्धित हुन सक्ने बताएका छन्। उनीहरूका अनुसार ताराको उमेरबाट उत्पन्न हुने प्रभावलाई ध्यान नदिँदा ब्रह्माण्डको विस्तार तीव्र भइरहेको गलत निष्कर्ष निस्कन सक्छ। उमेरसम्बन्धी सुधार लागू गरेपछि गरिएको विश्लेषणले ब्रह्माण्डको विस्तार तीव्र हुनुको सट्टा सुस्त भइरहेको संकेत गरेको अनुसन्धानकर्ताहरूको दाबी छ। यद्यपि यो निष्कर्षमा वैज्ञानिकहरूबीच एकमत छैन। सोही जर्नलमा प्रकाशित अर्को अध्ययनले भने ब्रह्माण्डको विस्तार तीव्र नै भइरहेको निष्कर्ष निकालेको छ। अक्सफोर्ड विश्वविद्यालयकी प्रोफेसर मारिया भिन्सेन्जीले हालका निष्कर्षहरूले विगत तीन दशकमा विकसित ब्रह्माण्डसम्बन्धी वैज्ञानिक ढाँचालाई थप समर्थन गर्ने बताएकी छन्। अब रुबिन अब्जर्भेटरीको नयाँ सर्वेक्षणबाट प्राप्त हुने लाखौँ सुपरनोभाको तथ्यांकले यी दुई फरक दाबीको परीक्षण गर्ने र ब्रह्माण्ड वास्तवमै तीव्र गतिमा विस्तार भइरहेको छ कि छैन भन्ने बहसलाई थप स्पष्ट पार्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार