काठमाडौँ । बैंकिङ कसुर मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका व्यवसायी शंकरलाल अग्रवालको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतमा बिहीबार सुनुवाइ हुने भएको छ। प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा र न्यायाधीश बालकृष्ण ढकालको संयुक्त इजलासमा अग्रवालको रिट पेसीमा तोकिएको हो।
उच्च अदालत पाटनले बैंकिङ कसुर मुद्दामा अग्रवाललाई पुर्पक्षका लागि नख्खु कारागार पठाउने आदेश दिएपछि उनको हकमा दीपा अग्रवालले बन्दीप्रत्यक्षीकरण रिट दायर गरेकी थिइन्। गत साउन ७ गते उच्च अदालत पाटनका न्यायाधीशद्वय अर्जुनप्रसाद कोइराला र कविप्रसाद न्यौपानेको वाणिज्य इजलासले अग्रवाललाई थुनामा राखेर मुद्दाको प्रक्रिया अगाडि बढाउन आदेश दिएको थियो।
अदालतको आदेशअनुसार जगदम्बा स्टिलको खाता सञ्चालन गर्ने अधिकार पाएका परिवारका सदस्यहरूले व्यावसायिक प्रयोजनका लागि लिएको ऋण अन्य प्रयोजनमा प्रयोग गरेको देखिएको भन्दै बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को दफा ८ बमोजिमको कसुर भएको उल्लेख गरिएको छ। अग्रवालको बैंक खाता प्रयोग गरी जटिल वित्तीय कारोबार भएको र यसबाट वित्तीय जोखिम सिर्जना भएको भन्दै मुद्दाको किनारा नलागेसम्म उनलाई थुनामै राख्न अदालतले आदेश दिएको थियो।
जगदम्बा स्टिल लिमिटेडले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको अगुवाइमा रहेको कन्सोर्टियम बैंकहरूबाट चालु पुँजी कर्जा लिएको थियो। तर, कर्जा जुन प्रयोजनका लागि लिइएको थियो, त्यसमा प्रयोग नगरी जग्गा खरिद तथा अन्य कम्पनीको शेयरमा लगानी गरिएको आरोप लागेको छ। उक्त विषयसँग सम्बन्धित बैंकिङ कसुर मुद्दामा अग्रवाल हाल पुर्पक्षका लागि थुनामा रहेका छन्।