• २०८३ भाद्र २५ गते बिहिवार
  • Preeti To Unicode

समयमा उपचार र PICU नपाउँदा सर्पदंशकी ८ वर्षीया बालिकाको मृत्यु

समयमा उपचार र PICU नपाउँदा सर्पदंशकी ८ वर्षीया बालिकाको मृत्यु

विराटनगर । समयमा उपचार र सघन उपचार कक्ष (PICU) उपलब्ध हुन नसक्दा इटहरी उपमहानगरपालिका–५ की ८ वर्षीया आस्वाना चौहानको सर्पदंशबाट मृत्यु भएको छ। बुधबार साँझ घरमै रहेका बेला उनलाई गोमन सर्पले बायाँ हातमा टोकेको थियो। परिवारले तत्काल थाहा नपाए पनि हातमा रगत देखिएपछि उनलाई नेपाली सेनाको इटहरीस्थित सर्पदंश उपचार केन्द्रमा लगिएको थियो। त्यहाँ एन्टीभेनम दिइएपछि थप सघन उपचार आवश्यक देखिएपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर गरिएको थियो। तर प्रतिष्ठानका चारवटै PICU बेड भरिएका कारण उनलाई भर्ना गर्न सकिएन। त्यसपछि अभिभावकले हतारहतार बूढीगंगास्थित विराट शिक्षण अस्पताल पुर्‍याए पनि त्यतिबेलासम्म बालिकाको अवस्था गम्भीर भइसकेको थियो। उपचार सुरु गरेको केही समयपछि बेलुका करिब साढे ८ बजे उनको मृत्यु भयो। बालिकाका काका मनिराज चौहानले समयमा नै सघन उपचार कक्ष उपलब्ध भएको भए उनलाई बचाउन सकिने बताएका छन्। उनले भविष्यमा अन्य परिवारले यस्तो पीडा भोग्न नपरोस् भन्दै राज्यले सरकारी अस्पतालमा ICU तथा PICU सेवा विस्तार गर्नुपर्ने र स्वास्थ्य सेवा सुधार गर्नुपर्ने माग गरेका छन्।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार