सुनसरी । नेकपा एमालेका सचिव एवं पूर्वमुख्यमन्त्री शेरधन राईले आगामी निर्वाचनमा हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले एमालेलाई चुनौती दिन सक्ने बताएका छन्। सुनसरीमा आयोजित पार्टीको मिसन जागरण अभियानमा बोल्दै राईले रास्वपाको लोकप्रियता घट्दै गएको दाबी गर्दै बालेन सरकारको कामकारबाहीका कारण रास्वपालाई मत दिएका मानिसले पश्चात्ताप गर्न थालेको जिकिर गरे। उनले श्रम संस्कृति पार्टीतर्फ राजनीतिक चेतना कमजोर भएका, जातीय भावनाबाट प्रभावित तथा अवसरवादी मानिस आकर्षित भइरहेको आरोपसमेत लगाए।
राईले हर्क साम्पाङको अभियानमा सहभागी हुने केही मानिस श्रममा सहभागी हुँदा खाजा, खाना र पकेट मनी पाइने भएकाले आकर्षित भएको दाबी गरे। त्यस्तै, एमाले र कांग्रेसमा टिकट पाउन कठिन भइरहेका बेला साम्पाङको पार्टीबाट टिकट पाएर चुनाव जित्न सकिने आशामा केही अवसरवादी समूह त्यतातर्फ लागेको उनको भनाइ थियो। उनले विभिन्न नयाँ दल खुले पनि जनताको आवाज सुन्ने र सबै वर्ग, जाति तथा समुदायको नेतृत्व गर्ने पार्टी एमाले मात्रै भएको दाबी गरे।
राईको अभिव्यक्तिप्रति श्रम संस्कृति पार्टीका कोशी प्रदेश अध्यक्ष प्रताप राईले कडा प्रतिक्रिया जनाएका छन्। सामाजिक सञ्जालमार्फत उनले पूर्वमुख्यमन्त्री शेरधन राई भोजपुरबाट पराजित हुनुको मानसिक असर पछिल्ला अभिव्यक्तिमा देखिन थालेको टिप्पणी गर्दै राजनीतिक रूपमा विचलित नहुन आग्रह गरेका छन्। प्रताप राईले श्रम संस्कृति अभियानको सुरुवात मात्रै भएको दाबी गर्दै केही महिनापछि भोजपुर एमालेभित्र राजनीतिक पहिरो जाने चेतावनीसमेत दिएका छन्। उनले शेरधन राईलाई ‘दम भए रोक्नुस्, रुवाबासी हैन भिड्न तयारी रहनुहोस्’ भन्दै राजनीतिक रूपमा सामना गर्न चुनौती दिएका छन्।