काठमाडौं । प्रतिनिधिसभाका विपक्षी दलहरूको बैठक सुरु भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आह्वानमा संसद् बैठकअघि विपक्षी दलहरू छलफलमा जुटेका हुन् । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दैछ ।
बैठकमा भोटेकोशी बाढीपछिको राहत, उद्धार, अस्थायी आवास तथा पुनर्निर्माणका साथै जलवायु न्यायका विषयमा छलफल भइरहेको नेकपाका प्रमुख सचेतक युवराज दुलालले बताए । उनका अनुसार बाढीपीडितको राहत तथा पुनर्निर्माणका विषयमा सरकारलाई थप प्रभावकारी कदम चाल्न दबाब दिने विषयमा पनि छलफल भइरहेको छ ।
त्यस्तै, भोटेकोशी बाढीबारे राष्ट्रिय तथा कूटनीतिक पहल गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद्मा प्रस्ताव गरेको विशेष सर्वदलीय संसदीय समिति गठन गर्ने विषयमा समेत बैठकमा छलफल हुने दुलालले बताए ।बैठकमा बढ्दो महँगी, ग्यासको अभाव तथा जनजीविकासँग सम्बन्धित अन्य समस्याका विषयमा पनि छलफल गरी आवश्यक निर्णय लिने तयारी रहेको उनले जानकारी दिए ।