काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विपद् तथा महाविपद्का समयमा ठूलो सङ्ख्यामा शव व्यवस्थापन गर्न सक्ने गरी देशका १२ संघीय अस्पताल तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कम्तीमा ५० शव अट्ने क्षमताका शवगृह निर्माण तथा विस्तार गर्ने निर्णय गरेको छ। मन्त्रीस्तरीय नीतिगत निर्णयअनुसार विपद्का बेला शव व्यवस्थापनमा देखिँदै आएका समस्या समाधान गर्न अस्पतालमै पर्याप्त क्षमताको शवगृह निर्माण गर्न लागिएको हो।स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले विगतका विपद्का क्रममा शव व्यवस्थापनमा कठिनाइ देखिएको र पछिल्लो भोटेकोशी बाढीका क्रममा समेत शव व्यवस्थापन चुनौतीपूर्ण बनेको बताइन्। विपद् व्यवस्थापनका विगतका अनुभवबाट पाठ सिक्दै भविष्यमा यस्ता समस्या दोहोरिन नदिन अस्पतालको क्षमता विस्तार आवश्यक रहेको उनको भनाइ छ। उनले फरेन्सिक मेडिसिनको महत्व बढ्दै गएको तथा मेडिको–लिगलसम्बन्धी कार्यलाई प्रभावकारी बनाउन पनि शवगृहको क्षमता विस्तार अपरिहार्य रहेको बताइन्।
मन्त्रालयका अनुसार नयाँ तथा विस्तारित शवगृहले शवको सुरक्षित संरक्षण, पहिचान, परीक्षण तथा आवश्यक कानुनी प्रक्रिया व्यवस्थित गर्न सहयोग पुर्याउनेछ। विपद्का समयमा शव व्यवस्थापनको जिम्मेवारी सम्बन्धित अस्पतालले नै व्यवस्थित रूपमा वहन गर्नुपर्ने भएकाले अस्पतालहरूमा आवश्यक क्षमताको शवगृह विकास गर्न लागिएको मन्त्रालयले जनाएको छ।निर्णयअनुसार कोशी अस्पताल, नारायणी अस्पताल, गजेन्द्र नारायण सिंह अस्पताल, भरतपुर अस्पताल, भेरी अस्पताल र डडेलधुरा अस्पतालमा शवगृहको क्षमता विस्तार तथा निर्माण प्रक्रिया अघि बढाइनेछ। त्यस्तै, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समेत एकपटकमा कम्तीमा ५० शव व्यवस्थापन गर्न सक्ने क्षमताको शवगृह निर्माण तथा विस्तार गरिनेछ।
मन्त्रालयले विपद् पूर्वतयारी र प्रतिकार्य क्षमता सुदृढ गर्दै शव व्यवस्थापनलाई सुरक्षित, व्यवस्थित, मर्यादित तथा वैज्ञानिक बनाउन यो पूर्वाधार विकास गर्न लागिएको जनाएको छ। यससँगै फरेन्सिक तथा मेडिको–लिगल सेवा विस्तारमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।