रुस । बर्लिनमा निर्वासनमा रहेका रुसी विपक्षी नेता इल्या याशिनले सेप्टेम्बर २० मा हुने विधायी निर्वाचनमा राष्ट्रपति भ्लादिमिर पुटिनको सत्तारूढ दल ‘युनाइटेड रसिया’ विरुद्ध मतदान गर्न विश्वभर रहेका युद्धविरोधी रुसी नागरिकलाई आह्वान गरेका छन्। उनले युद्धविरोधी नागरिकलाई एकै समयमा मतदान केन्द्रमा पुगेर लामबद्ध हुन आग्रह गर्दै यसमार्फत आफूहरू कति सङ्ख्यामा छन् भन्ने विश्वलाई देखाउन सकिने बताएका छन्। याशिनले रुसी निर्वाचन प्रक्रिया सरकारको कडा नियन्त्रणमा रहेको र विपक्षीमाथि प्रतिबन्ध, दबाब तथा धाँधलीका आरोप लाग्दै आएको भन्दै यसलाई वास्तविक निर्वाचनका रूपमा नलिएको बताएका छन्। युक्रेनमाथिको रुसी आक्रमणको आलोचना गरेपछि सन् २०२२ मा जेल परेका याशिन सन् २०२४ मा पश्चिमसँगको कैदी आदानप्रदानमार्फत रिहा भएका थिए। उनले बर्लिनमा स्थापना गरिएको ‘पिसफुल रसिया’मार्फत विभिन्न विपक्षी समूहलाई एकताबद्ध गरी युक्रेन युद्ध अन्त्य र नागरिक अधिकारका पक्षमा आवाज उठाउने प्रयास भइरहेको बताए। साथै, निर्वाचनपछि रुसले युक्रेनमा ठूलो सैन्य आक्रमणका लागि तीन लाखदेखि पाँच लाख मानिस परिचालन गर्न सक्ने चेतावनी दिँदै पुटिन गम्भीर वार्ताका लागि तयार रहेको कुनै सङ्केत नदेखिएको दाबी गरेका छन्। क्रेमलिनले भने नयाँ सैन्य परिचालनको योजना रहेको दाबी अस्वीकार गर्दै आएको छ।