महोत्तरी । महोत्तरीमा तीन–चार दशकयता घट्दै गएको कोदोखेती पछिल्ला वर्षमा भने पुनः विस्तार हुन थालेको छ। कोदोको पोषणयुक्त विशेषता, बढ्दो माग र राम्रो मूल्यका कारण किसानहरू यसको खेतीतर्फ आकर्षित भएका हुन्। कृषि ज्ञान केन्द्र महोत्तरीका अनुसार आव २०७८/७९ मा ३०० हेक्टरमा गरिएको कोदोखेती आव २०८१/८२ मा ३७५ हेक्टर र आव २०८२/८३ मा ३८२ हेक्टर पुगेको थियो। चालु आवमा कोदोखेती करिब ५०० हेक्टरमा विस्तार हुने अनुमान गरिएको छ। खेती क्षेत्रफलसँगै उत्पादनसमेत बढ्दै गएको छ। आव २०७८/७९ मा ३३० मेट्रिकटन कोदो उत्पादन भएकामा आव २०८१/८२ मा ४१२ र गत आवमा ४२० मेट्रिकटन उत्पादन भएको थियो भने चालु आवमा ६५० मेट्रिकटन उत्पादन हुने अनुमान छ। भङ्गाहा–४ का किसान गङ्गाराम महतोका अनुसार पछिल्ला वर्षमा कोदोको माग र मूल्य बढेपछि किसानले खेती विस्तार गर्न थालेका हुन्। मधेसमा परम्परागत रूपमा रोटीका लागि प्रयोग हुँदै आएको कोदो अहिले ढिँडो, बिस्कुट र हलुवा बनाउनसमेत प्रयोग हुन थालेको छ। बर्दिबास अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रितेश घिमिरेका अनुसार कोदोमा फाइबर, प्रोटिन, क्याल्सियम, म्याग्नेसियम, फस्फोरस, फलाम र पोटासियमजस्ता पोषक तत्त्व पाइने भएकाले यसको माग बढेको हो। विशेषगरी मधुमेह भएका व्यक्तिमा कोदोप्रतिको रुचि बढेसँगै यसको महत्त्व र खेती विस्तारमा समेत वृद्धि भएको छ।