• २०८३ भाद्र २५ गते बिहिवार
  • Preeti To Unicode

पैसाको अभावमा अस्पतालबाहिरै सुत्केरी, प्रतिनिधिसभामा उठ्यो प्रश्न

पैसाको अभावमा अस्पतालबाहिरै सुत्केरी, प्रतिनिधिसभामा उठ्यो प्रश्न

काठमाडौँ । स्वास्थ्य संस्थामा बच्चा जन्माउन पुगेकी एक सुत्केरी महिलाले पैसाको अभावमा अस्पताल परिसरबाहिरै बच्चा जन्माउनुपरेको दर्दनाक घटना प्रतिनिधिसभाको बैठकमा उठेको छ। रास्वपा सांसद खगेन्द्र कर्णले सप्तरीस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भएको घटनाबारे संसद्मा सरकारको ध्यानाकर्षण गराएका हुन्। सांसद कर्णका अनुसार सप्तरीका हरेराम पासवानकी श्रीमती बबिता पासवान सुत्केरी व्यथाले च्यापेपछि अस्पताल पुगेकी थिइन्। अस्पताल प्रशासनले ३ हजार २ सय रुपैयाँको बिल तिर्नुपर्ने बताए पनि उनीहरूसँग २ हजार ५ सय रुपैयाँ मात्रै रहेको थियो। आवश्यक रकम अभाव भएपछि उपचारमा आनाकानी गरिएको र अन्ततः ती महिलाले अस्पतालको गेटबाहिरै बच्चा जन्माउन बाध्य हुनुपरेको कर्णले बताएका छन्। अस्पतालजस्तो संवेदनशील ठाउँमा आर्थिक अभावका कारण सुत्केरी महिलाले उपचार नपाई बाहिरै बच्चा जन्माउनुपर्ने अवस्था सिङ्गो स्वास्थ्य प्रणालीकै लागि लज्जाको विषय भएको उनको भनाइ छ। गरिब, विपन्न तथा असहाय नागरिकका लागि भरोसाको केन्द्र मानिएको अस्पतालमै यस्तो घटना हुनु स्वास्थ्य सेवाको दयनीय अवस्थाको प्रमाण भएको कर्णले टिप्पणी गरेका छन्। उनले सम्बन्धित मन्त्रीलाई घटनाको तत्काल सत्यतथ्य छानबिन गरी संसद्समक्ष यथार्थ विवरण पेस गर्न, दोषीमाथि कारबाही गर्न तथा आर्थिक अभावका कारण नागरिकले उपचारबाट वञ्चित हुनुपर्ने अवस्था अन्त्य गर्न सरकारसँग माग गरेका छन्।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार