काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद माधवबहादुर थापाले पाल्पामा श्रमिकहरूमाथि भएको हिंसात्मक घटनाप्रति गम्भीर आपत्ति जनाएका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै थापाले जनप्रतिनिधिकै नेतृत्वमा भएको कुटपिटको घटनाले विधिको शासन र शान्ति सुरक्षामाथि नै प्रश्न उठाएको बताए।
थापाले आफ्नो जिल्ला पाल्पाका श्रमिकहरू कामको सिलसिलामा भेला भएर कुराकानी गरिरहेको अवस्थामा भूमिकास्थान नगरपालिका–८ का वडाध्यक्ष राजु श्रेष्ठ र अर्जुन श्रेष्ठसहितको समूहले उनीहरूमाथि मरणासन्न हुनेगरी कुटपिट गरेको दाबी गरे। घटनामा एक जनाको हात र खुट्टा भाँचिएको तथा अन्य चार जना गम्भीर घाइते भएको उनले जानकारी दिए।जनप्रतिनिधिको नेतृत्वमै हिंसात्मक घटना हुनु अत्यन्त गम्भीर र आपत्तिजनक भएको उल्लेख गर्दै थापाले घटनामा संलग्न व्यक्तिहरू जनप्रतिनिधि तथा प्रहरीसँग समेत नजिक रहेको भन्दै निष्पक्ष छानबिन हुनेमा आशंका व्यक्त गरे। उनले गृहमन्त्रीको ध्यानाकर्षण गराउँदै घटनाको तत्काल निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरे।
थापाले प्रहरी नै पीडकको संरक्षण गर्ने अवस्थामा पुगे सर्वसाधारणले न्याय कहाँ खोज्ने भन्ने प्रश्न उठाउँदै कानुनभन्दा माथि कोही पनि हुन नहुने बताए। जनताको प्रतिनिधि हुनु भनेको जनतामाथि बल प्रयोग गर्ने लाइसेन्स नभएको स्पष्ट पार्दै उनले राज्यको नजरमा सबै नागरिक समान हुनुपर्नेमा जोड दिए। साथै, पीडितहरूको उपचार, सुरक्षा र न्यायको सुनिश्चितता गर्न सरकार गम्भीर बन्नुपर्ने उनको माग छ।