काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद अंकिता ठाकुरले पैसा नभएकै कारण गर्भवती महिलालाई अस्पतालको गेटबाहिर बच्चा जन्माउन बाध्य पारिएको घटनाप्रति गम्भीर आपत्ति जनाएकी छिन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले स्वास्थ्य उपचारका नाममा भइरहेको अमानवीय व्यवहारप्रति सरकारको ध्यानाकर्षण गराएकी हुन्।
सांसद ठाकुरले गरिब तथा विपन्न नागरिकले अस्पताललाई मन्दिर र चिकित्सकलाई भगवान्सरह विश्वास गर्ने भए पनि उपचारको क्रममा पैसालाई प्राथमिकता दिइनु दुःखद् भएको बताइन्। उनले भनिन्, “जहाँ पैसाले सास र आस तय गर्छ, त्यहाँ अस्पताल, अस्पताल रहँदैन, त्यो केवल सौदाबाजीको पसल बन्छ।”घटनाको विवरण प्रस्तुत गर्दै ठाकुरले राजविराज नगरपालिका–१४ की असहाय गर्भवती महिला बबिताकुमारी पासवान अस्पताल पुगे पनि उपचार पाउनुअघि नै पैसाको मोलमोलाइ भएको दाबी गरिन्। पैसा नभएकै कारण मध्यरातमा उनलाई अस्पतालबाट बाहिर निकालिएको र उनले अस्पतालको गेटबाहिरै बच्चा जन्माउनुपरेको उनको भनाइ थियो।
ठाकुरले नेपालको संविधानको धारा ३५ ले प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क पाउने अधिकार सुनिश्चित गरेको स्मरण गराउँदै गरिब तथा विपन्न नागरिकले समेत सम्मानपूर्वक स्वास्थ्य सेवा पाउनुपर्ने बताइन्। उनले प्रश्न गरिन्, “के पैसा नहुने गरिबले यो देशमा आमा बन्ने र बच्चा जन्माउने अधिकार पनि गुमाइसकेका हुन्?”उनले उक्त घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न तथा दोषी देखिएका व्यक्तिलाई कानुनी कारबाहीको दायरामा ल्याउन सरकारसँग जोडदार माग गरेकी छिन्। ठाकुरले यस्ता घटनाले नेपालको स्वास्थ्य प्रणाली र राज्यको जवाफदेहितामाथि गम्भीर प्रश्न खडा गरेको बताइन्।