काठमाडौं । सुन तथा चाँदीका गरगहना चोरी गर्ने तथा चोरीका गरगहना खरिद गर्ने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–३२ जडिबुटी बस्ने महोत्तरी गौशाला नगरपालिका–५ घर भएका २९ वर्षीय सावन कुशवाहा, तेह्रथुम आठराई गाउँपालिका–८ घर भएकी ३६ वर्षीया पबित्रा लिम्बु, दोलखा गौरीशंकर गाउँपालिका–५ घर भएका २५ वर्षीय श्रीकृष्ण विश्वकर्मा र काठमाडौं महानगरपालिका–३२ नरेफाँट बस्ने भोजपुर नगरपालिका–५ बोखिम घर भएकी ४३ वर्षीया रमिला विक रहेका छन्।
प्रहरीका अनुसार उनीहरूमध्ये सावन कुशवाहा गरगहना चोरीमा तथा पबित्रा लिम्बु, श्रीकृष्ण विश्वकर्मा र रमिला विक चोरीका गरगहना खरिद गर्ने कार्यमा संलग्न रहेको खुलेको छ। काठमाडौं महानगरपालिका–३२ नरेफाँटस्थित एक घरबाट गत साउन १८ गते सुन तथा चाँदीका गरगहना चोरी गरी फरार भएको घटनाको अनुसन्धान गर्ने क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीले पक्राउ परेकाहरूको साथबाट सुन तथा चाँदीका विभिन्न गरगहनासमेत बरामद गरेको जनाएको छ। पक्राउ परेका चारै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।