काठमाडौँ। रसुवास्थित चिलिमे जलविद्युत आयोजनाको सुरुङमा फसेका आठ जनाको खोज तथा उद्धारका लागि नेपाली सेनाले सुरुङको मुख नजिकसम्म पहुँच सडक निर्माण गरेको छ। स्याफ्रबेँशी हुँदै चिलिमेको टनेलसम्म हेभी उपकरण पुर्याउने उद्देश्यले सेनाले पहुँचमार्ग निर्माण गरेको हो। सुरुङको मुखबाट करिब ३० मिटर नजिकसम्म सडक पुर्याइएको सैनिक प्रवक्ता सहायकरथी राजाराम बस्नेतले जानकारी दिएका छन्।
सेनाले प्रयोग गर्दै आएको एमआई–१७ हेलिकप्टरबाट ठूला उपकरण सुरुङको मुखमा पुर्याएर उद्धार गर्न सम्भव नभएपछि सडक निर्माण गरी हेभी उपकरण लैजाने तयारी गरिएको हो। २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत आयोजना क्षेत्रमा रहेका सांसद सागर ढकालका अनुसार पहुँचमार्ग निर्माणका लागि एउटा एक्स्काभेटर प्रयोग गरिएको छ भने थप दुईवटा एक्स्काभेटर ब्याकअपमा राखिएका छन्।यसैबीच, नेपाली सेना र भारतीय टनेल विशेषज्ञसहितको उद्धार टोली सुरुङभित्र प्रवेश गरी डेब्रिज हटाउने काममा जुटेको छ। उद्धारकर्मीहरू सुरुङभित्र करिब ११५ मिटर अगाडिसम्म पुगिसकेका छन्। सुरुङको उकालो–ओरालो बेन्ड क्षेत्रमा ठूला ढुंगा रहेका कारण विस्फोट गर्न कठिन भएपछि हेभी उपकरण प्रयोग गरेर अवरोध हटाउने तयारी गरिएको हो।
उद्धारकर्मीहरूले सुरुङभित्र ६ मिटरका ठूला पाइप प्रयोग गरी हिँड्न मिल्ने बाटोसमेत तयार गरेका छन्। विस्फोटमार्फत ठूला ढुंगा फुटाउनुपर्ने अवस्था आएपछि पहुँचमार्ग निर्माण गर्न केही समय लागेको बताइएको छ। सांसद ढकालका अनुसार पुल्चोक क्याम्पसबाट लेदो तान्ने मेसिनसमेत चिलिमे पुर्याइएको छ।पूर्वऊर्जामन्त्री कुलमान घिसिङ पनि चिलिमे जलविद्युत आयोजना स्थलमा पुगेर उद्धार कार्यमा सहजीकरण गरेका छन्। घटनास्थलमा नेपाली सेना, भारतीय टनेल विशेषज्ञ र अन्य उद्धारकर्मीहरू निरन्तर खटिरहेका छन्। सुरुङभित्र फसेका आठै जनालाई जीवितै उद्धार गर्ने प्रयास भइरहेको सांसद सागर ढकालले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।