२५ भदौ, सुर्खेत । भेरी कोरिडोरअन्तर्गत जाजरकोटको नलगाड नगरपालिका–१० र ११ को सीमामा पर्ने ताक्सुगाड खोलाले बगाउँदा एकजना बेपत्ता भएका छन्। नलगाड नगरपालिका–११ दम्काका रतनबहादुर दमाईलाई खोलाले बगाएर बेपत्ता बनाएको हो। वर्षायाममा ताक्सुगाड खोला जोखिम मोलेर वारपार गर्नुपर्ने बाध्यता रहे पनि पक्की पुल निर्माणका लागि पटक–पटक आग्रह गर्दा पनि सम्बन्धित निकायले चासो नदिएको स्थानीयको गुनासो छ। केही दिनअघि पनि खोलाले एकजनालाई बगाएको थियो भने उनलाई बीच खोलाबाट उद्धार गरिएको थियो। साउन २९ गते आएको बाढीले अस्थायी कजवे र झोलुङ्गे पुलसमेत बगाएपछि स्थानीयको आवतजावत थप जोखिमपूर्ण बनेको छ। ताक्सुगाडमा पक्की पुल निर्माणका लागि ठेक्का सम्झौता भएको वर्षौँ बितिसक्दा पनि काम अघि बढ्न सकेको छैन। भेरी कोरिडोरको महत्वपूर्ण खण्डमा पर्ने ताक्सुगाड हुँदै जाजरकोटबाट डोल्पासम्म यातायात सञ्चालन हुने भएकाले स्थानीयले तत्काल सुरक्षित आवतजावतको व्यवस्था गर्दै पुल निर्माणको काम अघि बढाउन सम्बन्धित निकायसँग माग गरेका छन्।