काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा ३ हजार ६ सयभन्दा बढीको स्वास्थ्य उपचार गरेको छ। बाढी प्रभावित क्षेत्रमा हेल्थ क्याम्प स्थापना गरी सशस्त्र प्रहरीले स्वास्थ्य उपचार तथा आवश्यक स्वास्थ्य परामर्श सेवा प्रदान गर्दै आएको हो।
नेपाल एपीएफ अस्पताल, बलम्बुबाट विशेषज्ञ चिकित्सकसहित खटिएको स्वास्थ्यकर्मीको टोलीले रसुवाको धुन्चे र टिमुरे तथा नुवाकोटका विभिन्न स्थानमा हेल्थ क्याम्प सञ्चालन गरिरहेको छ। नुवाकोटको आयुर्वेद चिकित्सालय, क्रियापुत्री भवन, केन्द्रीय कारागार, सेतीदेवी आधारभूत विद्यालय, क्षेत्रपाल आधारभूत विद्यालय, रणभुवनेश्वरी माध्यमिक विद्यालय र नुवाकोट स्वास्थ्य चौकीलगायतका स्थानमा स्वास्थ्य सेवा प्रदान गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए। त्यसैगरी धादिङको गल्छी र काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समेत भदौ १० गतेदेखि हेल्थ क्याम्प सञ्चालन हुँदै आएको छ।बाढीपछि फैलन सक्ने सम्भावित सरुवा रोग तथा अन्य स्वास्थ्य समस्यालाई ध्यानमा राख्दै सशस्त्र प्रहरीको चिकित्सकसहितको टोलीले नुवाकोटस्थित केन्द्रीय कारागारमा विशेष स्वास्थ्य परीक्षणसमेत गरेको छ। भदौ १७ गते १८५ जना र २४ गते २१७ जना गरी कुल ४०२ जना कैदीबन्दीको स्वास्थ्य परीक्षण तथा उपचार गरिएको थियो। स्वास्थ्य परीक्षणसँगै कैदीबन्दीलाई आवश्यक स्वास्थ्यसम्बन्धी परामर्शसमेत दिइएको सशस्त्र प्रहरीले जनाएको छ।
स्वास्थ्य उपचारसँगै विपद्पछि फैलन सक्ने महामारी नियन्त्रण तथा वातावरणीय स्वच्छता कायम गर्न सशस्त्र प्रहरीले नुवाकोटको देवीघाट बजार क्षेत्र, देवीघाट माध्यमिक विद्यालय परिसर र केन्द्रीय कारागार क्षेत्रमा किटनाशक औषधि छरेको छ। साथै, क्रियापुत्री भवन क्षेत्रमा सरसफाइ कार्यक्रमसमेत सञ्चालन गरिएको छ।बाढी प्रभावित क्षेत्रमा घाइतेको उद्धार तथा उपचारका लागि सशस्त्र प्रहरीले मास क्याजुअल्टी भेइकल परिचालन गर्नुका साथै नेपाल एपीएफ अस्पताल र विपद् व्यवस्थापन तालिम शिक्षालय, कुरिनटारमा रहेको ट्रमा सेन्टरमा बेड तयारी अवस्थामा राखेको छ।बाढी प्रभावित क्षेत्रका विभिन्न स्थानमा खोज तथा उद्धारका लागि सशस्त्र प्रहरी बल नेपालले ४ हजार २ सयभन्दा बढी कर्मचारी परिचालन गरेको छ। परिचालित टोलीले खोज तथा उद्धार, स्वास्थ्य सेवा, आकस्मिक औषधोपचार, होल्डिङ सेन्टर व्यवस्थापन तथा राहत सामग्री वितरणलगायतका कार्य गर्दै आएको छ।