काठमाडौं । युक्रेनको निप्रोपेत्रोव्स्क क्षेत्रअन्तर्गत पर्ने पावलोह्राद सहरको एक सपिङ मलमा रुसले गरेको ड्रोन आक्रमणमा परी पाँच जनाको मृत्यु भएको छ भने ६७ जना घाइते भएका छन्। युक्रेनका गृहमन्त्री इभान विहिभ्स्कीका अनुसार दिउँसोको समयमा भएको उक्त आक्रमणबाट सपिङ मलका पसल तथा आसपासमा रहेका सवारीसाधनमा गम्भीर क्षति पुगेको छ। सडकमा सर्वसाधारणको बाक्लो उपस्थिति रहेका बेला आक्रमण भएको उनले बताएका छन्।
युक्रेनी सञ्चारमाध्यमका अनुसार यसै साताको सुरुवातमा जापोरिजिया र सुमी सहरमा रहेका दुईवटा सपिङ मललाई पनि रुसी हवाई आक्रमणले निशाना बनाएको थियो। पछिल्ला घटनाले युक्रेनका सहरी तथा व्यापारिक क्षेत्रमा हवाई आक्रमणको जोखिम बढ्दै गएको देखाएको छ।यसैबीच, रुसले आफ्नो रिसोर्ट सहर सोचीमा युक्रेनले समुद्री ड्रोनमार्फत आक्रमण गरेको जनाएको छ। रुसी अधिकारीहरूका अनुसार बुधबार राति भएको उक्त आक्रमणमा २८ जना घाइते भएका छन्। साथै, अन्य युक्रेनी आक्रमणमा परी थप तीन जनाको मृत्यु भएको दाबी पनि रुसी पक्षले गरेको छ।
रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको साढे चार वर्षभन्दा बढी समय बितिसक्दा पनि दुई देशबीच युद्ध जारी छ। यस क्रममा दुवै पक्षले एकअर्कामाथि निरन्तर हवाई तथा ड्रोन आक्रमण गर्दै आएका छन्, जसका कारण सर्वसाधारणसमेत प्रभावित भइरहेका छन्।यता, युद्ध अन्त्यका लागि भइरहेको नयाँ शान्ति पहलले तत्काल कुनै ठोस परिणाम निकाल्ने संकेत देखिएको छैन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दूतहरूले मस्कोमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र किभमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग छुट्टाछुट्टै वार्ता गरे पनि युद्धविराम वा स्थायी शान्ति सम्झौताका विषयमा ठोस सहमति हुन सकेको छैन। यसले रुस–युक्रेन युद्धको कूटनीतिक समाधान अझै चुनौतीपूर्ण रहेको संकेत गरेको छ।