• २०८३ भाद्र २६ गते शुक्रवार
  • Preeti To Unicode

मुटुको स्वास्थ्य बिग्रिएको भन्दै पूर्वप्रथम महिला फ्लोरेसद्वारा अमेरिकी हिरासतबाट रिहाइको माग

मुटुको स्वास्थ्य बिग्रिएको भन्दै पूर्वप्रथम महिला फ्लोरेसद्वारा अमेरिकी हिरासतबाट रिहाइको माग

काठमाडौं । भेनेजुएलाकी पूर्वप्रथम महिला सिलिया फ्लोरेस डे मदुरोले अमेरिकी संघीय हिरासतमा आफ्नो मुटुको स्वास्थ्य अवस्था बिग्रिएको भन्दै घरमै नजरबन्दमा राख्न माग गरेकी छन्। उनका वकिलहरूले बुधबार अदालतमा निवेदन दर्ता गर्दै उनलाई म्यानहट्टनस्थित निवासमा निगरानीसहित राखेर मुद्दाको पुर्पक्ष गर्न दिन आग्रह गरेका हुन्।वकिलहरूका अनुसार गत जनवरी ३ मा अमेरिकी सेनाले काराकासबाट फ्लोरेस र उनका पति तथा भेनेजुएलाका पूर्वराष्ट्रपति निकोलस मदुरोलाई पक्राउ गरी न्युयोर्क ल्याएपछि उनको स्वास्थ्य अवस्था थप बिग्रिएको हो। हिरासतमा जानुअघि फ्लोरेस शारीरिक रूपमा स्वस्थ रहेको र मुटुको ‘माइट्रल भल्भ प्रोल्याप्स’ नियन्त्रण गर्न मासिक रूपमा लगाइने सुईबाहेक नियमित औषधि सेवन नगर्ने गरेको निवेदनमा उल्लेख छ।

हाल भने उनलाई चार प्रकारका औषधि सिफारिस गरिएको वकिलहरूले बताएका छन्। सम्भावित हृदयघातको जोखिमलाई ध्यानमा राख्दै उनले नाइट्रोग्लिसरिन साथमा राख्ने गरेको तथा चिकित्सकहरूले कोरोनरी परीक्षण र सम्भावित शल्यक्रियाको सुझाव दिएको उनीहरूको भनाइ छ। बाह्य विशेषज्ञ चिकित्सकसँगको परामर्शपछि गत जुलाई २९ मा हिरासतकै क्रममा उनलाई सामान्य हृदयघात भएको हुन सक्ने आशङ्का समेत गरिएको छ।फ्लोरेसले हिरासतमा पुगेपछि आफूले नियमित रूपमा लगाउँदै आएको मासिक सुई नपाएको गुनासो गरेकी छन्। उनको मुटुको भल्भसम्बन्धी समस्याका लागि पर्याप्त उपचार भइरहेको छ कि छैन भन्ने विषयमा समेत वकिलहरूले प्रश्न उठाएका छन्। हाल उनलाई छाती दुख्दा प्रयोग गर्न बेबी एस्पिरिन, स्ट्याटिन, डिल्टियाजेम र नाइट्रोग्लिसरिन दिइएको बताइएको छ। चिकित्सकहरूले शल्यक्रियाको सुझाव दिएकाले स्वास्थ्यलाभका लागि अनुकूल वातावरण आवश्यक रहेको वकिलहरूको दाबी छ।

फ्लोरेसलाई ब्रुकलिनस्थित मेट्रोपोलिटन डिटेन्सन सेन्टरबाट म्यानहट्टन संघीय अदालतको जिल्लाभित्र पर्ने कुनै निवासमा सार्न प्रस्ताव गरिएको छ। प्रस्तावित होम डिटेन्सनअन्तर्गत उनलाई २४ घण्टा हतियारधारी सुरक्षा निगरानीमा राखिनेछ भने अदालत र संघीय अभियोजकले अनुमति दिएका व्यक्तिले मात्र उनलाई भेट्न पाउनेछन्। उनको घरमा भिडियो निगरानी गरिनुका साथै फोन कलसमेत रेकर्ड गरिने प्रस्ताव गरिएको छ। न्यायाधीश अल्भिन के. हेलरस्टाइनले निवेदनमाथि हालसम्म कुनै निर्णय गरेका छैनन्।सन् २०१३ मा निकोलस मदुरो राष्ट्रपति बनेदेखि फ्लोरेस भेनेजुएलाको राजनीतिमा प्रभावशाली भूमिकामा रहँदै आएकी छन्। उनी युनाइटेड सोसलिस्ट पार्टी अफ भेनेजुएलाकी शीर्ष नेतासमेत रहिसकेकी छन् र चार वर्षभन्दा बढी समय राष्ट्रिय सभाको नेतृत्व गरेकी थिइन्।अमेरिकाले मदुरो र फ्लोरेसमाथि लागुऔषध तथा हतियारसम्बन्धी आरोप लगाएको छ। उनीहरूमाथि राजनीतिक असहमतिलाई दमन गरेको र मानवअधिकार उल्लङ्घन गरेको आरोपसमेत लाग्दै आएको छ। तर दुवैले आफूहरू कोकिन ओसारपसारको षड्यन्त्रमा संलग्न नरहेको भन्दै अमेरिकी आरोप अस्वीकार गर्दै आएका छन्।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार